सरकारी जग्गा ओगट्ने, प्रयोग नगर्ने

दाङ समाचार
दाङ समाचार १७ श्रावण २०८०, बुधबार
6 Min Read
Aa

दाङ – लमही नगर विकास समितिले दुइ दर्जन बढि सामाजिक संघ संस्थालाई जग्गा उपलब्ध गराएको छ । ति मध्ये केहि सरकारी संस्था पनि रहेका छन । विभिन्न उदेश्य राखेर जग्गा माग गरेका ति संस्थाहरुले उदेश्य अनुशारको काम नगरेको लमही नगर विकास समितिले बताएको छ । कुनै संस्थाले जग्गा मात्र आफ्नो नाममा लिएर छोडेको वर्षौं बितेको छ भने कुनै संस्थाले भवन बनाएर गेटमा ताला झुण्ड्याएका छन त कतिपयले बनाएका भवन भाडामा लगाएका छन ।

संस्थाहरुले ओगटेर राखेको जग्गा नगर विकास समितिले बिक्रि वितरण गरेको भए करोडौं रुपैयाँ नगर विकासको कोषमा जम्मा हुने र विकासे योजनाका काम गर्न सकिन्थ्यो । तर हचुवाको भरमा पुर्व समितिले जग्गा बाड्दा नगर विकास समिति करोडौंको घाटामा गएको छ । लमही नगर विकास समिति गठन भएपछी धेरै अध्यक्षहरु फेरबदल भए। जति अध्यक्ष फेरबदल भएपनि नगर विकास समितिले दिएको जग्गा सम्बन्धित संघ ÷ संस्थाले सदुपयोग गरेका छनकी छैनन भनेर अनुगमन भने नगर विकास समितिबाट हुन सकेको छैन । शक्ति र पहुँचका आधारमा ति संघ संस्थालाई जग्गा दिने गरेको कुरा बेला बेला चल्ने नगरेको भने होइन ।

लमही नगर विकास समितिले २०५२ सालमा ६० विगाह र २०५९ सालमा १५ विगाह १४ कट्ठा सवा १४ धुर गरि नेपाल सरकार मार्फत ७५ विगाह १४ कट्ठा सवा १४ धुर जग्गा प्राप्त गर्यो । नगर विकासले प्राप्त गरेको जग्गामा नगर विकास आफैले प्लाटिंग गरेर बिक्रि गर्यो भने केहि जग्गा विभिन्न सामाजिक संघ संस्थालाई दियो ।

ति संघ संस्थाले विभिन्न उदेश्य राखेर जग्गा माग गरेको कारण जग्गा उपलब्ध गराइएको लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले बताए । हामि भन्दा अगाडीको समितिले नीति नियमको पालना गरेरै प्रक्रिया अगाढी बढाएको होला’– उनले भने । जग्गा दिनु भन्न आउनेहरु पनि राम्रै उदेश्य लिएर आएकोले नगर विकास समितिको निर्णयबाट जग्गा उपलब्धताका लागि आवश्यक प्रक्रिया अगाडी बढाई दिने काम गरेको चौधरीको भनाई छ ।

कानूनी प्रक्रिया पुरा गरेर नगर विकासले न्युनतम मुल्यमा थुप्रै संघ संस्थालाई जग्गा दिएको छ, जुन उदेश्यका लागि जग्गा दिइएको हो तर अहिले हेर्दा त्यो अवस्थाको देखिंदैन । कतै जग्गा खालि छन् भने कतै भवन बनेपनि गेटमा ताला झुण्डाइएको छ ।
लमहीमा शाखा कार्यालय रहेको कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैकलाई लमही नगर विकास समितिले ५ ÷५ कट्ठा जग्गा दिएको थियो ति दुवै बैंकले हालसम्म जग्गा खालि राख्दै भाडाको घरबाट कार्यालय संचालन गर्दै आएका छन । बैंकलाई भनेर छुट्याइएको जग्गामा बोट बिरुवा, घाँस उम्रेर जंगल जस्तै बनेको छ । नगर विकासबाट प्राप्त भएको जग्गामा घर निर्माणका लागी हामीले केन्द्रीय कार्यालयमा जानकारी गराई रहेको छौं तर उताबाट कुनै सुनुवाई नहुँदा हामी भाडा तिरेर बस्न बाध्य छौं’– शाखा प्रमुख शिवप्रसाद चौधरीले भने ।

बैंकले मासिक १ लाख १० हजार घर भाडा बुझाउउदै आएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि मासिक तीस हजार रुपैयाँ भाडा तिर्दै आएको शाखा प्रमुख रामप्रसाद पौडेलले बताए । हामीलाई प्राप्त भएको जग्गालाई प्रदेश प्रमुख आएर हेरेर जानु भएको छ सायद प्रदेश कार्यालय नै बन्छ भन्ने मेरो बुझाई हो’– पौडेलले भने ।

नेपाल विद्युत प्राधिकरण लमही शाखाले नगर विकास समितिबाट प्राप्त गरेको १० कट्ठा जग्गा शाखाको नाममा पास गरेर भवन बनाई अहिले सोहि भवनबाट सेवा प्रबाह गर्दै आएको छ । त्यसैगरी थारु कल्याण कारिणी, देउखुरी उद्योग वाणिज्य संघ, लमही जेसिज, होटल व्यवसायी संघ, देउखुरी भारतीय भूपू सैनिक संगठन, नेपाल प्रेस युनियन दाङले १५÷१५ धुर जग्गा प्राप्त गरेका छन । नेपाल प्रेस युनियन बाहेक अन्य संस्थाहरुले भवन निर्माण गरेका छन । र यी संस्थाहरुले जग्गा पास गरेर आफ्नो नाममा लालपुर्जा समेत प्राप्त गरिसकेका छन ।

त्यसैगरी लमही आँखा अस्पतालको मातहतमा रहने गरि कान अस्पतालको भवन बनाउन ५ कट्ठा, इलाका प्रशासन कार्यालय लमहीलाई ५ कट्ठा, सामुदायिक रेडियो प्रसारक संघ, नेत्रहीन संघ दाङ, देउखुरी साहित्यिक तथा कला संस्कृति मंच, नेपाल निवृत्त राष्ट्र सेवक समाज लमही, त्रीसिद्देश्वरी यातायात व्यवसायी समिति, राप्ती टेम्पो ट्याक्सी तथा मिनिबस व्यवसाय समितिलाई १५÷१५ धुर जग्गा नगर विकासले वार्षिक रुपमा न्युनतम भाडा बुझाउने गरि सम्झौता गर्ने प्रक्रियामा रहेको छ ।

त्यस्तै ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयलाई ४ कट्ठा जग्गा उपलब्ध गराएको नगर विकासले अबदेखि वार्षिक रुपमा भाडा तिर्ने गरि सम्झौताको प्रक्रिया अगाडी बढाएको सुचना अधिकारी हरिकृष्ण खनालले जानकारी दिए । रजिस्ट्रेसन पास गरेका बाहेकलाई अबदेखि भाडा तिर्नु पर्ने गरि प्रक्रिया अगाढी बढाएका छौं’– खनालले भने । त्यसैगरी कृष्ण सेन इच्छुकलाई २ कट्ठा ३ धुर जग्गा दिइएको छ ।

त्यस्तै विपी स्मृति भवन र नेत्रलाल अभागी स्मृति प्रतिष्ठान भवन निर्माणका लागि २÷२ कट्ठा जग्गा उपलब्ध गराएको थियो । ति जग्गामा भवन बनिसकेका छन । ति भवनको पनि वार्षिक भाडा निकै न्युनतम छ तर अहिलेसम्म भाडा नबुझााएको सुचना अधिकारी खनालले बताए । भाडा तिर्नुस भनेर पत्राचार गरेका छौं तर केहि जवाफ आएको छैन’– उनले भने । यी दुई प्रतिष्ठानका विचमा कमल स्मृति प्रतिष्ठान भवन निर्माणाधीन अवस्थामा छ ।

यसरी लमही नगर विकास समितिले थुप्रै संस्थाहरुलाई जग्गा बाँडेको छ तर कुन संस्थाले घर बनाए, कुन संस्थाले बनाएनन, कतिले जग्गा आफ्नो नाममा गराए कतिले गराएन भनेर लेखाजोखा गर्न सकिरहेको छैन । सरसर्ती नजर अन्दाज गर्ने हो भने यी संस्थाहरुले जग्गा ओगटेर राख्न मात्र खोजेको देखिन्छ ।

किरिया पुत्री घर
लमही नगर विकास समितिले रातो डाँडामा किरिया पुत्री घर बनाएको छ । १२.८२ धुर क्षेत्रफल रहेको जग्गामा २ कोठे घर निर्माण गरेर रातो डाँडा टाउन प्लानिङ टोल विकास समितिलाई संचालनका लागि हस्तान्तरण गरेको छ । बजारमा कोठा भाडा लिएर बस्नेहरुलाई सहज होस् भनेर नगर विकासले यो घर बनाएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्