दाङ – मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। आक्रमणमा एक सय जना घाइते पनि भएका छन्।
हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित मानिसहरू बस्दै आएको बताएको छ। यता इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा रहेको अबु ओराबेन विद्यालयमा हमास लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गरिरहेको बताएको छ।
यद्यपि प्रत्यक्षदर्शीहरूले बिबिसीलाई शिविरमा सशस्त्र लडाकुहरू नभइ बालबालिकासमेत रहेको बताएका छन्। पछिल्लो आठ दिनमा विद्यालय र वरपरको यो पाँचौं आक्रमण हो।
गाजाको स्वास्थ्य मन्त्रालयले मानवीय क्षेत्रको रूपमा तोकिएको गाजाको क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा १ सय ४१ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।
हमासले एक विज्ञप्ति जारी गर्दै खान युनिस नजिकै अल मसावी क्षेत्रमा भएको आक्रमणमा अहिलेसम्म ४०० जना घाइते भएको जनाएको छ।सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो।
इजरायलले यस हमलाको बारेमा उल्लेख गर्दै यो हमला हमासका वरिष्ठ नेता मोहम्मद डेफ र उनका सहयोगी राफा सलामामा लक्षित गरिएको जनाएकाे छ। इजरायलले हालै आफ्नो सेनाले सलामामा मारेको दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्