विद्यार्थीहरुको प्रश्न :- स्वास्थ्य, शिक्षाका क्षेत्रमा के-के काम गर्नु भयो मेयर साप !

दाङ समाचार
दाङ समाचार ३ श्रावण २०८१, बिहीबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिका भित्र रहेका विद्यालयका छात्र तथा छात्राहरुले लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीलाई स्वास्थ्य, शिक्षाका क्षेत्रमा हालसम्म के कस्ता काम गर्नु भयो भनेर प्रश्न गरेका छन ।

निरासिज युथ फाउन्डेसन र एम्नेष्टी इन्टरनेशनलको संयुक्त आयोजनामा ‘लमही नगरपालिकामा मानव अधिकारको अवस्था’ विषयमा मेयर र उपमेयरसँग टेबुल टक कार्यक्रममा नगर प्रमुख र उपप्रमुखलाई सहभागी विद्यार्थीहरुले यस्तै प्रकारका दर्जनौ प्रश्न गरेका हुन ।

कार्यक्रममा लमही नगरपालिकामा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानीय निकायले मानव अधिकारका क्षेत्रमा हालसम्म के कस्ता कामहरु गर्दै आएको छ, स्वास्थ्य, शिक्षा जस्ता विषयमा के के काम गर्नु भयो भन्दै प्रश्न गरेका थिए । सहभागी विद्यार्थीहरुले अघिल्लो वर्षमा मानव अधिकारको क्षेत्रमा शुन्य लगानी गरेको देखिएको भन्दै आगामी वर्षमा लगानी गर्न सुझाव समेत दिएका थिए ।

त्यस्तै दलित, जनजाती, पिछडाबर्ग, भूमिहीन सुकुम्बासीहरुको लागि स्थानीय सरकारले अहिले के काम गरिरहेको छ, बजेट विनियोजन गर्छ की गर्दैन, न्याय निरुपणका कामहरु के कसरी भएका छन्, बजेट बाडफाँड गर्दा सिमान्तकृत बर्गलाई छुन्छ की छुंदैन, त्यस्ता समुदाय संग छलफल गरिन्छ की गरिदैन भन्ने जस्ता प्रश्न राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिथी बनेर सहभागी भएका लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले यस्ता विषयका समस्या नगरपालिकामा नआउने गरेको प्रतिक्रिया दिएको निरासिज युथ फाउन्डेसनका अध्यक्ष निर्मला चौधरीले बताउनु भयो । अध्यक्ष चौधरीले भन्नु भयो ‘ मेयर सापले बुझेर हो या नबुझेर हो तर जुन अपेक्षा सहितका प्रश्न थिए त्यो मुताविकका जवाफ दिन सक्नु भएन ।

अहिलेसम्म स्थानीय सरकारले गरेका कामकारबाही जनमुखी नभएको पाइएको छ, बजेट विनियोजनमा पनि त्यस्तै देखियो, अब हामीले दलित, जनजाती, पिछडाबर्ग, भूमिहीन सुकुम्बासीहरुलाई छुने गरेर बजेट विनियोजन गर्ने बारेमा सल्लाह दिन्छौं, मान्नु भएन भने दवाब पनि दिने छौं’- अध्यक्ष चौधरीले भन्नु भयो ।

त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले आफु न्यायिक समितिको संयोजक भएको हुँदा केहि असमझदारीका विवाद आउने गरेको र त्यस्ता विवादलाई कानूनी सल्लाहकारका सहयोगमा सुल्झाउने प्रतिक्रिया दिनु भएको छ । न्याय सम्पादनका काम गर्दै गर्दा मानव अधिकारको रक्षा हुने गरि कसैको पनि अधिकार हनन नहुने र अन्यायमा नपार्ने जस्ता कामहरु भएको उहाँको भनाई छ ।

कार्यक्रममा रोजी बड्स बालाबातिक, ज्योतिष्मती विद्यापीठ, गुरुकुल एकेडेमी लमही, देउखुरी पब्लिक, जईन्द्र सिंह लगायतका विद्यालयका छात्र तथा छात्राहरुको उपस्थिति रहेको थियो । एम्नेष्टी इन्टरनेशनल लमही युथ नेटवर्कका अध्यक्ष रिजु कट्टेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन असिम न्यौपानेले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्