दाङ – देउखुरी ब्याडमिन्टन क्लवको प्रथम साधारणसभा आज लमहीमा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै लमही नगरपालिका-७ का वडा अध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले समग्र देउखुरीभरिका खेलाडीलाई समेटने गरी ब्याडमिन्टन क्लवले ठूलो संजाल बनाएर अगाडि बढ्नुपर्ने बताउनु भयो । यस खेलले शारीरिक सन्तुलनको विकास गर्नुका साथै मानसिक स्वस्थ्यमा मद्दत पुग्ने भएकोले सबैले यो खेल खेल्न आवश्यक रहेको वडा अध्यक्ष गिरीले बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले लमहीमा रहेको ब्याडमिन्टन क्लवमा युवा पुस्तालाई पनि सहभागी गराउनु पर्ने बताउनु भयो । साथै क्लवको संरक्षण तथा प्रबर्धन गर्नु सबैको दायित्व हो, यो ब्याडमिन्टन क्लवको कभर्ड हल लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको बताउनु भएको छ ।
खेल जीवनको एक महत्वपूर्ण पक्ष भएको भन्दै देउखुरी ब्याडमिन्टन कभर्ड हलको भरपुर फाइदा लिनु पर्ने वक्ताहरुको जोड छ । साथै क्लवको आर्थिक आयस्रोत पारदर्शी हुनु पर्ने, युवा पुस्तालाई खेलसंग जोड्न सबैले जोड गर्नु पर्ने उहाँहरुको धारणा छ ।
साथै आज भएको प्रथम साधारणसभाले एक जनालाई हटाएर बाँकी पुरानै समितिलाई निरन्तरता दिएको छ । जसको अध्यक्षमा प्रदीप राना, उपाध्यक्षमा सदीप पौडेल, सचिवमा कमलजंग सिंह ठकुरी चयन हुनु भएको छ । कोषाध्यक्षमा तुल्सीराम अर्याल रहनु भएको छ । यस अघिका सहसचिव प्रमोद बस्नेतलाई हटाएर सहसचिवमा रवीन्द्र जिसीलाई राखीएको छ । भरत कुँवर, विक्रम चौधरी, दुलमदास चौधरी, पुरन चौधरी, कल्याण अधिकारी, शशीप्रकाश बटाला सदस्यहरुमा रहनु भएको छ । त्यसैगरी लोकराज पौडेल र केशव चौधरीलाई मनोनित सदस्यमा राखिएको छ ।
देउखुरी ब्याडमिन्टन क्लवको वार्षिक प्रगति प्रतिवेदन र आगामी रणनैतिक योजना सचिव कमलजंग सिंह ठकुरीले प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुलसीराम अर्यालले प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको छ ।
क्लवका अध्यक्ष प्रदीप रानाको अध्यक्षता तथा लमही नगरपालिका -७ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता मोहन गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रवीन्द्र जिसीले स्वागत मन्तव्य राख्नु भएको थियो भने क्लवका सचिव कमलजंग सिंह ठकुरीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्