दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार विकास, समृद्धि र सुशासन प्रबद्र्धनलाई केन्द्रमा राखेर समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको लक्ष्यलाई पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । जनै पूर्णिमा (रक्षाबन्धन) को अवसरमा शुभकामना दिदै मुख्यमन्त्री आचार्यले प्रदेशको विकास र समृद्धिको माध्यमबाट राष्ट्र निर्माणको महा अभियानलाई सफल बनाउन सकिने बताएका हुन ।
यस्तै जनै पूर्णिमाको महत्व र परम्परालाई समाज रुपान्तरणको अभियान संग पनि जोड्न आग्रह गरेका छन् । सोमवार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, नेपाल शाखा कार्यालय लमहीमा रक्षाबन्धन कार्यक्रममा मुख्यमन्त्री आचार्यले सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि जनै पूर्णिमाले महत्वपूर्ण योग्दान दिएको चर्चा गरे ।
सामाजिक विकृती, विसंगति अन्त्यका लागि समाज रुपान्तरण गर्ने अभियानमा प्रदेश सरकारको साथ रहेको स्पष्ट पारे ।‘उहाँहरु पनि सामाजिक विकृति, विसंगतीको विरुद्धमा हुनुहुन्छ । समाज रुपान्तरणको अभियानमा हुनुहुन्छ । प्रदेश सरकार पनि सामाजिक विकृति, विसंगतिको विरुद्धमा संगै रहेको जानकारी गराउन चाहन्छु’उनले भने,‘समाज परिवर्तनको निमित्त हामी पनि अघि बढीरहेका छौं ।
यो अभियानमा हामी सहकार्य गर्ने छौं ।’ साथै मुख्यमन्त्री आचार्यले आफु बिरामी पर्दा ब्रह्माकुमारी संस्थाको तर्फबाट साथ, सहयोग र सदभाव पाएको धारणा राख्दै भावुक समेत भए । रक्षाबन्धन कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल समेत उपस्थित थिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय लमहीका प्रमुख इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आनन्द योगीले गरेका थिए ।
मुख्यमन्त्रीद्धारा प्रहरी सहायक निरिक्षकको निधनमा गहिरो श्रद्धाञ्जली
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सहायक निरिक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा एमाले लमही नगर कमिटिका सचिव भानु जोशीकी श्रीमती तथा नेकपा एमाले राजपुर गाउँपालिका कमिटि अध्यक्ष हेमकुमार जिसीकी बहिनी ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानमा कार्यरत प्रहरी सहायक निरिक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

श्रद्धाञ्जली व्यक्त गर्न मुख्यमन्त्री आचार्य जिसीको घर लमही नगरपालिका–५ लमही पुगेका थिए । यस्तै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समेत दिवंगत शिवाकुमारी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । जिसीको साउन २५ गते उपचारको क्रममा काठमाण्डौंमा निधन भएको थियो ।
ड्यूटीमा खटिएको क्रममा बिरामी भइ उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लागी काठमाण्डौं लगिएको थियो । उच्च रक्तचापका कारण जिसीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्