दाङ – आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ ।
हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको प्रतीकको रूपमा चिनिन्छ र आजकै दिन यो पवित्र वनस्पति कुशलाई आ-आफ्नो घरमा भित्र्याइन्छ, जुन वर्षभरि गरिने देवकार्य वा पितृकार्यका लागि अति उपयोगी वनस्पतिको रुपमा लिइन्छ । कुशको महिमा वेद तथा पुराणहरूमा समेत वर्णन गरेको पाइन्छ ।
आजकै दिन आफ्नो बुबा र पूर्वजहरूको सम्मान गर्ने दिनका रूपमा पनि मनाइन्छ । यस दिन पितृहरूको तर्पण, पूजा, ब्राह्मण भोजन र दानको माध्यमबाट उनीहरूको आत्मा शान्ति र मुक्ति प्राप्त गर्न प्रार्थना गर्ने गरिन्छ ।
आज पिताको महत्त्व र योगदानलाई मान्यता दिने अवसर हो । बाबुको मुख हेर्ने परम्पराले पिताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ, जसले परिवार र समाजमा पिताको स्थान र योगदानको महत्त्वलाई उजागर गर्छ । जसले पारिवारिक एकता र आदरको विशेष स्थान राख्छ ।

प्रतिक्रिया दिनुहोस्