हजुरबुबाको घरमा वर्षीको भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

दाङ समाचार
दाङ समाचार १९ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

दाङ – धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ लक्ष्मीनियाँमा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए । उनका अनुसार उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो । डुब्ने बालकहरू महावीर साहका तीन छोरीका जेठा छोराहरू रहेको प्रहरी निरीक्षक साहले बताए ।

घटना साढे ७ बजेतिर साँझको हो । तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सबै भोजमा व्यस्त रहेका बेला उनीहरु पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने वडाध्यक्ष गंगा साहले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्