दाङ – लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लमहीको निर्वाचन यहि पुस २७ गते हुँदै छ । यो निर्वाचनका लागि आज पुस २३ गते विभिन्न पार्टीबाट सिफारिस भएका उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गराएका छन ।
लमही खानेपानीमा ९ पदका लागि ३० जनाको प्रतिस्पर्धा छ । अध्यक्ष, कोषाध्यक्ष र सचिवमा ४/४ जनाको उम्मेदवारी परेको छ । अन्य पदमा ३/३ जनाको उम्मेदवारी परेको निर्वाचन मण्डलका संयोजक मनिराम केसीले जानकारी दिनु भएको छ ।
नेपाली काङ्ग्रेसले संयुक्त लोकतान्त्रिक प्यानल खडा गरि देउखुरी उद्योग वाणिज्य संघमा वाणिज्य उपाध्यक्षको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गरेका विनोद कुमार पाण्डेलाई अध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ । त्यस्तै उपाध्यक्ष पदमा शिवा चौधरीलाई उम्मेदवार बनाएको छ, उहाँ यस अघि खानेपानीको सदस्य हुनुहुन्थ्यो । त्यस्तै सचिवमा वसन्त आचार्यको उम्मेदवारी रहेको छ । उहाँ अघिल्लो कार्यकालमा पनि सचिव हुनुहुन्थ्यो । कोषाध्यक्षमा हल्लु प्रसाद चौधरी, महिला सदस्यमा बबिता खत्री र चिन्तादेवी चौधरी, खुल्ला सदस्यमा देविराम भण्डारी, गोपाल प्रसाद खनाल र छन्द सिंह बस्नेत उम्मेदवार बन्नु भएको छ ।
त्यसैगरी नेकपा एमालेले प्रगतिशील प्यानल खडा गरि अध्यक्ष पदमा सनम कुमार पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल एक कार्यकाल खानेपानीको सचिव भैसक्नु भएको छ र पछिल्लो पटक अध्यक्ष पदमा चुनाव लड्नु भएका पौडेल वर्तमान अध्यक्ष जंग बहादुर चौधरीसंग पराजित हुनु भएको थियो । त्यसैगरि नेकपा एमालेले उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुधिर कुमार रेग्मी, कोषाध्यक्षमा दिनेश आचार्य, महिला सदस्यमा कौशिला काफ्ले र सीतादेवि शाही, खुल्ला सदस्यमा दीनमणी खनाल, कमल नारायण चौधरी र विद्यादेवि थापालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र, रास्वपा, स्वतन्त्र नागरिक लगायतका दल मिलेर स्वतन्त्र प्यानल खडा गरि श्याम खनाललाई अध्यक्ष पदको लागि अघि सारेका छन । उपाध्यक्षमा हुमा कुमारी पाण्डे ‘सपना’, सचिवमा ऋषिराज रावत क्षेत्री उम्मेदवार बन्नु भएको छ । रावत पुर्व अध्यक्ष दण्डीराम चौधरी अध्यक्ष भएको समतमा कार्यसमिती सदस्य हुनुहुन्थ्यो । कोषाध्यक्ष श्यामलाल भण्डारी, महिला सदस्यमा अमृता चौधरी र भागवती चौधरी, खुल्ला सदस्यमा शुरेस कुमार गुप्ता जैसवाल, सुनिल चौधरी र मदन सिंह ओली लगायतका उम्मेदवार बन्नु भएको छ ।
लमही खानेपानीमा कुल ४ हजार ९ सय ९८ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्