न्यून शुल्कमा उपभोक्तालाई गुणस्तरीय खानेपानी वितरण गर्नेछु – पाण्डे

दाङ समाचार
दाङ समाचार २३ पुष २०८१, मंगलवार
2 Min Read
Aa

दाङ – लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहि पुस २७ गते हुन गैरहेको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा विनोद कुमार पाण्डे उम्मेदवार बन्नु भएको छ । अध्यक्ष पदका लागि एमालेका सनम कुमार पौडेल, स्वतन्त्रबाट श्याम खनाल र बुद्दिमान चौधरी लगायत तीन जनाको उम्मेदवारी परेको छ ।

संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डेले पत्रकारहरुसंग कुरा गर्दै उपभोक्तालाई न्यून शुल्कमा गुणस्तरीय खानेपानी वितरण गरिने बताउनु भएको छ । साथै उहाँले संस्थामा हुने अनावश्यक खर्च कटौती गर्ने, सुशासन कायम गर्ने, मितव्ययी र पारदर्शिता हुने गरी काम गर्ने बताउनु भएको छ । नयाँ उपभोक्तालाई धारा जडान गर्दा शुल्क धेरै भएको जनगुनासोलाई सम्बोधन गर्दै उपभोक्तालाई मर्का नपर्नेगरी शुल्क निर्धारण गरिने बताउनु भयो ।

लामो समय विभिन्न सामाजिक संघ संस्थामा काम गरेको अनुभव भएको बताउदै अध्यक्ष पदका उम्मेदवार पाण्डेले ति सामाजिक संघ संस्थाबाट प्राप्त गरेको अनुभव अब खानेपानी संस्थामा प्रयोग हुने बताउनु भयो । लमही खानेपानीको क्षेत्रलाई विस्तार गर्दै धेरै भन्दा धेरै उपभोक्ताहरुलाई पानी वितरण गरिने उहाँको योजना रहेको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेसले संयुक्त लोकतान्त्रिक प्यानल खडा गरि उपाध्यक्ष पदमा शिवा चौधरीलाई उम्मेदवार बनाएको छ, उहाँ यस अघि खानेपानीको सदस्य हुनुहुन्थ्यो । त्यस्तै सचिवमा वसन्त आचार्यको उम्मेदवारी रहेको छ । उहाँ अघिल्लो कार्यकालमा पनि सचिव हुनुहुन्थ्यो । कोषाध्यक्षमा हल्लु प्रसाद चौधरी, महिला सदस्यमा बबिता खत्री र चिन्तादेवी चौधरी, खुल्ला सदस्यमा देविराम भण्डारी, गोपाल प्रसाद खनाल र छन्द सिंह बस्नेत उम्मेदवार बन्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्