दाङ – लमही नगरपालिका – ६ का वडा अध्यक्ष श्यामनारायण चौधरीले सामुदायिक विद्यालयको चौतर्फी विकासका लागि शिक्षक, अभिभावक निकै गम्भीर बन्नु पर्ने बताउनु भयो । आदर्श नमूना माध्यमिक विद्यालय देउपुरको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष चौधरीले शैक्षिक गुणस्तरमा कुनै प्रकारको सम्झौता नगरी निरन्तर राम्रो नतिजाका लागि सबैले कडा मेहनत गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष रेशमबहादुर खड्का, पूर्वप्रधानाध्यापक शशिधर ज्ञवाली, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसाल, खिमबहादुर शाह मावि कोलहीका प्रअ गिरिराज न्यौपाने, पत्रकारद्वय राधेश्याम गुप्ता र लीला शाहलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तिलक गिरीले वार्षिक प्रतिवेदन र लेखा प्रमुख दुधराज चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विभिन्न अक्षयकोषबाट विद्यालयका उत्कृष्ट तथा अनुशासित छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिका – ६ का वडा अध्यक्ष श्यामनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक गिरिराज चौधरीको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक बसन्तराज अधिकारी र शिक्षिका रोशी खनालले गर्नुभएको थियो । कार्यक्रममा छात्रछात्राहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्