पाठेघरको मुखको क्यान्सरबाट बच्न एपीभी खोप लगाउनै पर्छ – उपप्रमुख योगी

दाङ समाचार
दाङ समाचार २३ माघ २०८१, बुधबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले पाठेघरको मुखको क्यान्सरको जोखिमबाट किशोरीहरुलाई जोगाउने उद्देश्यले नगरापालिकाभर एपीभी खोप अभियान सञ्चालन गरिएको बताउनु भएको छ । हिज माघ २२ गते लमहीको देउखुरी पब्लिक माध्यामिक विद्यालयबाट यो अभियान शुरुवात भएको छ ।

अभियानको शुभारम्भ गर्दै नगर उपप्रमुख योगीले ३ हजार २ सय ५९ किशोरीलाई यो खोप लगाउन लागिएको बताउनु भएको छ । साथै यो खोप सुरक्षित र प्रभावकारी भएकोले ढुक्क भएर लगाउन सबैमा आग्रह गर्नु भएको छ ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो। विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबै जना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।

उनले भने, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दछौँ।”

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए । त्यसै गरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्