अनलाइन जुवा खेलाउने थप २४ जना भारतीय पक्राउ

दाङ समाचार
दाङ समाचार ६ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – काठमाडौँको बुढानीलकण्ठबाट फेरि अनलाइन जुवा खेल्ने/ खेलाउने २४ जना भारतीय पक्राउ परेका छन् । हप्ता दिनअघि माघ २७ गते बुढानीकण्ठ नगरपालिका ३ गैरीगाउँबाट अनलाइन जुवा खेल्ने/खेलाउने २३ जना भारतीय पक्राउ परेका थिए ।

सोमबार (फागुन ५ गते) बुढानीलकण्ठ नगरपालिका ५ बाट २४ जना भारतीयहरू जुवा खेले, खेलाएको आरोपमा पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको पनि पत्ता लागेको छ ।उनीहरूले पनि घर भाडामै लिएर जुवा खेलाउने गरेको आचार्यले बताए। माघ २७ गते पक्राउ परेकाहरूले पनि बुठानिलकण्ठमा एउटा घर भाडमा लिएर जुवा खेलाउने काम गरेका थिए।

पक्राउ पर्नेहरू भारतको बिहार, उत्तरप्रदेशका रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २१ थान ल्याप्टप, ३८ थान मोबाइल, कपी र डायरी २ थान र वाइफाइ राउटर ३ थान बरामद गरेको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर अनुसन्धान भइरहेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्