दाङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन ।
शनिबार काठमाडौँमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताए ।
तर लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने उनको भनाइ थियो । मानव अधिकारका कुरा नबुझ्नेहरु कांग्रेसी नहुने उनको तर्क छ ।
सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समयअघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताए । उनले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गरे । उनले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी बताए ।
कोइरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति जनाए । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता/कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्