दाङ – लमही नगरपालिका-८ का वडा अध्यक्ष उमेश कुमार खड्काले बजारमा बिक्ने र बजारको माग अनुशार सीप प्रदान गर्नु राज्यको दायित्व भएको बताउनु भयो । लमही नगरपालिका-८ को कार्यालयले हिज देखि शुरु गरेको २/३ महिने वेसिक तथा डिप्लोमा कम्प्युटर तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले सो कुरा बताउनु भएको हो । देशलाई आवश्यकता कुन सीपको हो ? त्यो कुरा राज्यले पहिचान गरेर सीप प्रदान गर्नु पर्छ, नत्र देश रित्तो हुन समय लाग्दैन”- उहाँले भन्नु भयो ।
प्रविधिका कुरा सिक्ने यसैमा भविष्य देखेका हाम्रा बालबालिकालाई अझै पनि हामीले धकिया बुन्ने, टपरी बुन्ने जस्ता काममा अल्झाएर राख्यौ भने यिनीहरुको भविष्य कस्तो होला ? त्यस कारण अबको युग भनेको टेक्नोलोजीको हो, विश्वले कति फट्को मारी सक्यो, हामीले त्यति गर्न नासकौला तर पनि हिम्मत गर्नु पर्छ अबका हाम्रा सन्ततिलाई प्रविधिमैत्री बनाउन सबैले जोड गर्नु पर्छ”- वडा अध्यक्ष खड्काले भन्नु भयो ।
तालिममा वेसिक कोर्स तर्फ १ सय ४० जना र डिप्लोमा तर्फ १ सय जना गरि २ सय ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।उनिहरुलाई २५ जनाको सेक्सन बनाएर बेसिकका लागि दुइ महिना र डिप्लोमा कक्षाका लागि ३ महिना सिकाइने वडा कार्यालयले जनाएको छ । तालिमको प्रमुख प्रशिक्षकमा प्रकाश चौधरी रहनु भएको छ । वडा कार्यालयले गत आर्थिक वर्षमा पनि १ सय ३० जना विद्यार्थीलाई कम्प्युटर तालिम प्रदान गरेको थियो ।
लमही नगरपालिका-८ का वडा अध्यक्ष उमेश कुमार खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन वडा कार्यालयकी कार्यालय सहायक विष्णु बस्नेतले गर्नु भएको थियो । सो क्रममा वडा सदस्य देवा परियार र लुमा कुमारी भारारीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
द मास कम्युनिकेसन कम्प्युटर इनिस्च्युटले तालिम प्रदान गर्ने जिम्मेवारी पाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत ७ लाख बजेटमा कम्प्युटर तालिम हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्