मकवानपुर प्रहरीद्वारा रातोमाटेबाट पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ

दाङ समाचार
दाङ समाचार १२ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

दाङ – मकवानपुर प्रहरीले आइतबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा हेटौँडा –१५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र बिहारकै मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपक कुमार रहेका छन् ।

रौतहट जिल्लाको गौरबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई विशेष सूचनाको आधारमा सुरक्षाजाँच गर्दा धिरज र दीपकको साथबाट एक राउण्ड गोली लोड भएकोे अटो पेस्तोल, थप २ थान गोली गरी ३ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

दुई महिनादेखिको सूचनाको आधारमा एउटा पेस्तोलसहित गोली फेला परेको उहाँको भनाई छ । उनीहरुलाई हातहतियार मुद्दामा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । एस्पे खड्काले आपराधिक कर्ममा लाग्ने जोकसैलाई पनि कानूनी दायरामा ल्याएर कारवाही गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्