दाङ – घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो १८ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको छैन । गएराति १ बजेतिर आगलागी सुरु भएकोमा आज साँझ ६ बजेसम्म पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन। तत्काल आगो नियन्त्रणमा आउने अवस्था नरहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए।
उनकाअनुसार उद्योगमा भएको आगलागी ८० प्रतिशत नियन्त्रणमा आए पनि बाँकी नियन्त्रण गर्न कठिन भइरहेको छ। उद्योगमा प्रयोग गरिने लिक्विडमा आगो लागेकाले जति पानी हाल्दा पनि नियन्त्रण गर्न कठिन भएको लम्सालले बताए।
उनका अनुसार आगो नियन्त्रणमा आउन अझै चार–पाँच घण्टा लाग्ने अनुमान छ। दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले हाल उद्योगको मूख्य भागमा आगलागी भएकाले नियन्त्रण गर्न कठिन भएको बताए।
आगो नियन्त्रणका लागि छिमेकी तीन जिल्लाबाट पाँच वटा दमकल मगाइएको छ। कपिलबस्तुबाट २, बाँकेबाट २ र बर्दियाबाट १ गरी पाँच वटा दमकल बाहिरबाट र जिल्लाका तीन वटा दमकल गरी ८ वटा दमकलबाट आगो नयन्त्रणको प्रयास गरिएको छ।
उद्योगको आगो नियन्त्रणमा भन्दा पनि पहिले गाउँ बचाउन लाग्नुपरेको थियो। उद्योगको ५० मिटरसम्म बस्ती फैलिएको छ। १०० मिटरको आसपामा ७०–८० घरहरू रहेको र तिनलाई बचाउन पहिले लाग्नुपरेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।
‘आगलागी भएपछि पहिले कसरी बस्ती बचाउने र अनि उद्योगमा आगो नियन्त्रण गर्ने भन्ने भयो। त्यसैअनुसार हामीले अग्नि रेखा बनाएर बस्ती बचाउन सकेका छौँ’, उनले भने, ‘उद्योग बचाउन सकिएन।’
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन कार्यालयका कर्मचारी र स्थानीय सहभागी थिए। आगो नियन्त्रणमा सेना–प्रहरीमात्र २०० जना परिचालन भएको लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्