दाङ – पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीले बगार बाबा क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अझ व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । बिहिबार लमही नगरपालिका -९ रिहारमा बगार बाबा धार्मिक पर्यटन विकास समितिको ३२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै पूर्व मन्त्री चौधरेले सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “बगार बाबा क्षेत्रले धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य समेटेको छ । यसलाई व्यवस्थित गर्न सके दाङको पर्यटकीय सम्भावना उजागर हुन्छ र स्थानीय समृद्धिमा टेवा पुग्छ।” चौधरीले समितिको दीर्घकालीन प्रयासको प्रशंसा गर्दै संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक बजेट व्यवस्थापनमा पनि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा अन्य वक्ताहरूले बगार बाबा क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे चर्चा गरेका थिए । सोही अवसरमा समिति मार्फत आगामी वर्षको योजना, बजेट तथा गत वर्षको समिक्षा प्रस्तुत गरिएको थियो ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि, धार्मिक अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बगार बाबा क्षेत्रलाई अझ आकर्षक र व्यवस्थित धार्मिक स्थल बनाउने साझा संकल्प व्यक्त गरिएको थियो ।
बगार बाबा धार्मिक पर्यटन विकास समितिका पूर्व सचिव ज्ञानराज नेपाली, गोरक्ष गौधामका अध्यक्ष रमेश कुमार खड्का, बगार बाबा माध्यामिक विद्यालय रिहारका प्रधानाध्यापक यम बहादुर बस्नेत, दलित सचेतना दाङका अध्यक्ष शशीराम नेपाली, बगर बाबा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोपेन्द्र पुन, स्थानीय पहल सिंह पुन, लमही नगरपालिका वन महासंघका पूर्ण बहादुर बस्नेत, गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहज राम यादव, बगार बाबा धार्मिक विकासका सल्लाहकार सदस्य बिन्तीराम यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
बगार बाबा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष रवीन्द्र खत्रीको अध्यक्षता एवम् पूर्व सहरी विकास मन्त्री मेटमणी चौधरीकाे प्रमुख आतिथ्यता तथा लमही नगरपालिका – ९ का वडा अध्यक्ष भेष बहादुर केसीकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । समितिका उपाध्यक्ष मानसिंह वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव नन्दलाल वली र सहसचिव सुर्य लाल यादवले गर्नुभएको थियो । फोटो:- रवीन्द्र खत्रीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्