दाङ – लमही नगरपालिका – ९ का वडा अध्यक्ष भेष बहादुर केसीले महिलाहरुले अब नेतृत्व लिन अग्रसर हुनु पर्ने बताउनु भयो । केसीले भन्नु भयो ‘ महिला अधिकार तथा नेतृत्व विकास” एक सामाजिक जागरूकता तथा क्षमता विकास कार्यक्रम हो, जसको उद्देश्य महिलाहरूलाई आफ्नो अधिकारबारे सशक्त बनाउनु र नेतृत्व क्षमताको विकास गर्नु हो । यस्तो कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउँछ र सामुदायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढाउन प्रेरित गर्दछ ।
लमही नगरपालिका वडा नम्बर ९ को सहयोग तथा बगार बाबा मिडिया हाउस प्रालिको आयोजनामा आयोजित दुई दिने महिला अधिकार तथा नेतृत्व विकास तालिमको समापन गर्दै वडा अध्यक्ष भेष बहादुर केसीले महिलाहरुको नेतृत्व विकास होस् भन्ने उदेश्यले यो तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले महिलाहरू अब नेतृत्वमा अग्रसर हुनुपर्ने आवश्यकता रहेको भन्दै यस्ता तालिमहरू प्रभावकारी र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै लमही नगरपालिकाकी कार्यपालिका सदस्य पार्वती विश्वकर्माले घरभित्र वा बाहिर जहाँ अन्याय भए पनि चुप लाग्ने होइन, बोल्ने र उचित निकायमा उजुरी दिने हिम्मत राख्न सबै महिलाहरुलाई आग्रह गर्नु भयो । वडा सदस्य अमर वलीले हिंसा, दुर्व्यवहार वा विभेदको सामना गर्न कानुनी सहायता लिनु पर्ने बताउनु भयो । अर्का वडा सदस्य इश्वरा पछाईले महिला समूह, सहकारी संस्था, सामाजिक संगठनहरूमा सक्रिय सहभागिता जनाउनु पर्ने बताउनु भयो । महिलाहरुको एकता र साझा आवाजले मात्र अधिकार सुनिश्चित गर्न सकिने उहाँको भनाई छ ।
दुई दिने महिला अधिकार तथा नेतृत्व विकास तालिमको समापन कार्यक्रममा सहभागीहरुले तालिम उपलब्धि मुलक भएको भन्दै यस्ता तालिमहरु पुनः आयोजना गर्न वडा कार्यालयलाई अनुरोध गरेका छन । त्यसैगरी महिलाहरुलाई महिला अधिकार तथा नेतृत्व विकास तालिम संग संगै स्वरोजगार बन्न सीपमुलक तालिमको लागि पनि मौका दिनु पर्ने बताएका छन ।
दुई दिनसम्म चलेको तालिमको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमला, लमही नगरपालिका वडा नम्बर ९ का वडा सचिव ललिता कुमारी कडायत र रेडियो नेपाल दाङका संवाददाता किरण विक्रम शाह रहनु भएको थियो । तालिममा करिव साट्ठी जना महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्