दाङ – नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षक आन्दोलनप्रति नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ दाङले एक्यवद्धता जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि आन्दोलन गरिरहेका शिक्षकहरूसँग तत्काल सार्थक वार्ता गरी विद्यालयहरू खोल्ने वातावरण बनाउन सरकारलाई अपिल गरेको हो ।
क्षेत्रीय सभापति भेषराज पाण्डेले जारी गर्नुभएको विज्ञप्तिमा संविधान अनुसार तीन वर्षभित्रै ल्याइसक्नुपर्ने शिक्षा विधेयक १० वर्ष बित्दा पनि नआएको उल्लेख गर्दै यसले शिक्षा क्षेत्रमा गम्भीर समस्या उत्पन्न गरेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, `शिक्षकहरूका जायज माग सम्बोधन गर्न ढिलाइ गर्नु गैरजिम्मेवार कार्य हो । सरकारले आन्दोलनरत शिक्षकसँग संवाद गरि समस्या समाधान गर्नु आवश्यक छ ।´
पाण्डेले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरूको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै अबिलम्ब विद्यालय सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्