नारायणी नदीमा पौडी खेल्न गएका एकै घरका दुई बालक बेपत्ता

दाङ समाचार
दाङ समाचार ३ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

दाङ – नारायणी नदीमा पौडी खेल्न गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक बेपत्ता भएका छन् । मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका मध्यविन्दु नगरपालिका वडा नं १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिए ।

वेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन् । विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए । घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गएराति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेको वडाध्यक्ष कुमालले बताए । प्रमुख जिल्ला अधिकारीलाई गोताखोरको व्यवस्था गर्न आग्रह गरेर आज बिहानैबाट पुनः खोजी कार्य भइरहेको वडाध्यक्ष कुमालले बताए । बेपत्ता भएका दुबै बालकका बुबाहरु रोजगारीका क्रममा विदेशमा छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्