दाङ – भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा बिहीवार साँझ फेरि अर्को नेपाली छात्रा मृत भेटिएकी छन ।
कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै `क्यु सि ४´ छात्रवासको कोठामा बिहीवार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन । साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छोरी हुन । साहको स्थायी घर भने सर्लाहीको मलंगवा हो ।
मृतक प्रिशाका भाइ गौरव साहले बिहीवार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फोन गरेर प्रिशाको मृत्यु बारे जानकारी दिएको बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू मे १८ तारिखमा विदामा घर आउने जानकारी गराएकी थिइन । प्रिशा एक वर्षअघि बिटेक अध्ययनका लागि कीट विश्वविद्यालय गएकी भाइ गौरबले बताए ।
विश्वविद्यालयमा बीटेक पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा साह झुन्डिएर मृत अवस्थामा भेटिएको भारतको दिल्लीस्थित नेपाली दूतावासले पनि पुष्टि गरेको छ । कलेज प्रशासनले घटनाबारे नेपालमा रहेका मृतकका परिवारजनलाई खबर गरिसकेको र उनीहरू कलेजमा आएपछि मात्रै शवको पोष्टमार्टम गरिने जानकारी गराएको नेपाली दूतावासले जनाएको छ ।
यसअघि गत फागुनमा पनि नेपालको बुटवलकी छात्रा २० वर्षीया प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्