गढवा गाउँपालिकामा बालबालिकाको मुटु चेकजाँच अभियान सुरु

दाङ समाचार
दाङ समाचार ३ जेष्ठ २०८२, शुक्रबार
2 Min Read
Aa

आलोक भावुक

दाङ – गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ कार्यक्रम अभियानकै रुपमा सुरु गरेको छ।

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्र छात्राहरू तथा शिक्षकहरुको मुटु चेकजाँच कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरी सबै विद्यालयमा अध्ययनरत बालबालिका तथा शिक्षकको मुटु चेकजाँच गर्ने कार्यक्रमको आयोजना गरिएको गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले जानकारी दिनुभयो । “हामीले यो अभियान केवल परीक्षणका लागि मात्र होइन, दीर्घकालीन स्वास्थ्य सुरक्षाको थालनीका रूपमा सुरु गरेका हौं। विद्यालयमै स्वास्थ्य सेवा पु-याउने हाम्रो योजना यो कार्यक्रममार्फत कार्यान्वयनमा आएको छ।

बाथ मुटु रोग र जन्मजात मुटु रोग हाम्रो ग्रामीण क्षेत्रका बालबालिकामा पनि देखिन थालेका छन्। समयमै परीक्षण, सल्लाह र उपचारले ज्यान जोगिन सक्छ भन्ने सोचले यो अभियान सुरु गरिएको हो -गांउपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बताउनु भयो ।गाउँपालिका मात्र विकास निर्माणमा सीमित हुन हुँदैन। जनस्वास्थ्य, विशेष गरी बालबालिकाको स्वास्थ्य सुरक्षित गर्नु हाम्रो प्राथमिक दायित्व हो अध्यक्ष पोख्रेलले भन्नु भयो ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिस्ठानको प्राबिधिक सहयोगमा बाथ मुटुरोग तथा जन्मजात मुटुरोगको प्रारम्भिक परिक्षण (स्क्रीनिङ) कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।

गढवा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ६ हजार ६ सय विद्यार्थी,३ सय ५० शिक्षक र अन्य गरी करिब ७ हजार जनाको बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ गरिने गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर विकले जानकारी दिनुभयो।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान दाङ र लुम्बिनी प्रदेश कमीटीको प्राविधिक सहयोगमा बाथ मुटुरोग तथा जन्मजात मुटुरोग परिक्षण अभियान सुरु भएको छ।

मुटु परिक्षण कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडे लगायतको टोलीले विद्यार्थीहरुको मुटुरोग परिक्षण सुरु गरेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेश कमिटी संयोजक रविलाल आचार्यले जानकारी दिनुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्