राप्ती नदीमा विपद्‌ व्यवस्थापन सम्बन्धी उद्दार अभ्यास सम्पन्न

दाङ समाचार
दाङ समाचार १९ जेष्ठ २०८२, आईतवार
2 Min Read
Aa

दाङ – जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा देउखुरीस्थित राप्ती नदीमा विपद्‌ व्यवस्थापनको तयारीस्वरूप उद्दार सम्बन्धी व्यवहारिक अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । उक्त अभ्यास कार्यक्रम जिल्लामा सम्भावित प्राकृतिक विपद्‌ – विशेषगरी बाढी तथा डुबानका समयमा जनधनको सुरक्षा तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि गरिएको हो ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय तहका प्रतिनिधि, विपद्‌ जोखिम न्यूनीकरणमा संलग्न विभिन्न संघ–संस्था तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

व्यवहारिक अभ्यासमा डुबानमा परेका व्यक्तिको उद्दार, तत्काल प्राथमिक उपचार, सुरक्षित स्थानमा विस्थापन, आपतकालीन समन्वय, सञ्चार व्यवस्थापन, राहत वितरण लगायतका विषयमा तालिम दिइएको र प्रत्यक्ष अभ्यास गराइएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले कार्यक्रममा बोल्दै भने, “प्राकृतिक विपद्‌ कहिल्यै पूर्वसूचना दिएर आउँदैन, त्यसैले तयारी नै सुरक्षित समाजको आधार हो । यस्तो अभ्यासले विपद्‌को बेलामा हाम्रो तयारी र समन्वय क्षमतामा ठूलो सुधार ल्याउनेछ।”

कार्यक्रमले सरोकारवाला निकायबीच समन्वय र तालमेल बढाउने, विपद्‌को समयको तत्काल प्रतिक्रिया प्रणाली मजबुत बनाउने र स्थानीय तहमा चेतनाको विकास गर्ने लक्ष्य राखेको थियो । साथै, जनस्तरमा पनि विपद्‌प्रति सतर्कता र सजगता बढाउन प्रशिक्षण उपयोगी हुने विश्वास गरिएको छ ।

कार्यक्रममा ल्स्म्शी नगरपालिकाका प्रमुख जोगराज चौधरीले यस्तो अभ्यासलाई नियमितरूपमा सञ्चालन गर्नुपर्ने धारणा राख्दै विपद्‌ न्यूनीकरण तथा व्यवस्थापनमा प्रशासन र स्थानीय निकायबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।

यस अभ्यास कार्यक्रमले देउखुरी क्षेत्रमा बढ्दो बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्