दाङ – लमही नगरपालिका–२ स्थित राजपुर, घटुरिया डाँडामा स्थानीय महिलालाई ढकिया बनाउने तालिम प्रदान गरिएको छ । स्थानीय स्रोत साधनको उपयोग गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय २१ जना महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले यस प्रकारका सीपमूलक तालिमहरुले समुदायमा स्वरोजगारको अवसर सृजना गर्ने विश्वास व्यक्त गरे । उनले स्थानीय स्तरमा उत्पादन र आत्मनिर्भरता बढाउने कार्यमा नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले पनि सहभागीहरुलाई हौसला दिँदै भने, “हामीले समुदायमा व्यवहारिक ज्ञान पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरेका हौं। अब सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने जिम्मेवारी तपाईंहरुको हो । नगरपालिका तपाईँहरुको साथमा सधैं रहनेछ।”
सो कार्यक्रममा लमही नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दामोदर पौडेल र वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र शिक्षा शाखाकी अम्विका शर्मा अतिथिका रूपमा सहभागी थिए । अतिथिहरूले तालिममा सहभागीहरूलाई शुभकामना दिँदै महिलाहरूको सशक्तिकरण र स्थानीय सीपको प्रवर्द्धनमा यस्तो तालिमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
तालिमको क्रममा सहभागीहरुले ढकिया बनाउने सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिकेका थिए । समापन कार्यक्रममा सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागीहरुले तयार पारेका ढकियाहरुको प्रदर्शनी पनि गरिएको थियो । तालिममा २१ जना महिलाहरुको सहभागिता रहेको थियो ।
सोनपुर सामुदायिक सिकाई केन्द्रको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो । सिकाई केन्द्रका अध्यक्ष लक्ष्मण पवन पन्थीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाकी सामाजिक परिचालक गीता चौधरी अधिकारीले गरेको थिइन । प्रशिक्षक इन्द्रा चौधरीले सहभागीलाई तालिम प्रदान गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्