नेपाल भूतपूर्व सैनिक संघ दाङले मनायो ३५ औं स्थापना दिवस

दाङ समाचार
दाङ समाचार २५ जेष्ठ २०८२, शनिबार
2 Min Read
Aa

दाङ – नेपाल भूतपूर्व सैनिक संघ दाङले आफ्नो ३५ औं स्थापना दिवसमा दीप प्रज्वलन गरेर मनाएको छ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय रातो डाडामा एक कार्यक्रमको आयोजना गरि दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस दाङका उपसभापति गिरिराज सुवेदीले पार्टी सुदृढीकरणमा भातृ संगठनहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । कुनै पनि राजनीतिक पार्टीको संस्थागत सुदृढता र जनस्तरसम्मको पहुँच विस्तारमा भातृ संघ–संस्थाहरूले खेलेको भूमिका अतुलनीय हुने उनको भनाई छ । सुवेदीका अनुसार भूतपूर्व सैनिक संघ जस्ता संगठनहरूले पार्टीका विचार, नीतिहरू र कार्यक्रमलाई जनतासम्म पुर्‍याउने, जनताका भावना बुझ्ने तथा पार्टी र जनताको बीचमा पुलको काम गर्ने गर्दछन्।

त्यस्तै नेपाली कांग्रेस महासमिति सदस्य गिरिजादेवी न्यौपानेले भूतपूर्व सैनिक संघका सदस्यहरूको अनुशासन, कर्तव्यबोध र राष्ट्रसेवामा देखिएको समर्पण भावको प्रशंसा गर्दै यस्तो संगठन पार्टीको सशक्त हतियार बन्ने विश्वास व्यक्त गरिन । नेपाली कांग्रेस जिल्ला सदस्य लीलाराम खनालले राजनीतिक मूल्य, सिद्धान्त र संगठनात्मक कार्यदिशामा विश्वास राखेर काम गर्ने भातृ संघहरू नै पार्टीको आधारभूत खम्बा भएको बताए ।

नेपाल महिला संघ दाङकी सचिव लक्ष्मी योगीले स्थापना दिवसको अवसरमा संघका सम्पूर्ण सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै संघलाई अझ संगठित, सक्रिय र परिणाममुखी बनाउन सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन आह्वान गरिन । नेपाली कांग्रेस गढवाका सभापति किरण पौडेलले कार्यक्रममा राष्ट्रिय एकता, लोकतन्त्रको रक्षा र सामाजिक न्यायका लागि भातृ संगठनहरूको सक्रियता अपरिहार्य रहेको धारणा व्यक्त गरे । देउखुरी बहुमुखी क्याम्पस लमहीका सल्लाहकार पदम पुडासैनी, केन्द्रिय सदस्य शिवध्वज मल्ल लगायतले बोल्नु भएको थियो ।

नेपाल भूतपूर्व सैनिक संघ दाङका अध्यक्ष जुद्द बहादुर जिएमको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङका उपसभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघ दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मुम बहादुर रोकाले स्वागत मन्तव्य राखेका थिए भने संचालन नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रतिनिधि कुमार घिमिरेले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्