बालरोग न्यूनीकरणमा स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण – उपप्रमुख योगी

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०८२, मंगलवार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले वालरोगको न्यूनीकरणमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताईन। लमही नगरपालिकाले वडा नम्बर ८ को सतबरियामा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लागि बालरोग व्यवस्थापन सम्बन्धि १ दिने स्वास्थ्य सचेतना तालिममा बोल्दै उपप्रमुख योगीले भनिन्, “घर-घरमा पुगेर समुदायलाई सचेत गराउने जिम्मेवारी तपाईंहरूमा छ ।

समयमै रोगको पहिचान र सिफारिस गर्न सक्ने तपाईंहरूको सीपले धेरै बालबालिकाको जीवन जोगिन सक्छ।” बालरोगप्रति समाजमा अझैपनि भ्रम र लापरवाही रहेको भन्दै स्वयंसेविकाहरूलाई यसबारे जनस्तरसम्म पुगेर काम गर्न आग्रह गरिन । स्थानीय सरकारको यस्तो पहलले स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्दै बाल स्वास्थ्यको संरक्षणमा सकारात्मक प्रभाव पार्ने उपप्रमुख योगीले अपेक्षा गरेको बताईन ।

त्यसैगरी लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद भुसालले बालबालिकाको स्वास्थ्यमा सबै चनाखो हुनु पर्ने धारणा राखे । उनले बालबालिकाको सुरक्षाका लागि समुदाय, अभिभावक र स्वास्थ्यकर्मीहरूबीच समन्वयात्मक कार्य आवश्यक रहेको बताए ।

तालिममा वडा नम्बर ७, ८ र ९ का २३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहभागिता रहेको थियो । उक्त तालिमका प्रशिक्षक तथा लमही नगरपालिका स्वास्थ्य शाखाकी अस्पताल नर्सिङ्ग निरीक्षक रेश्मा थापाले बालरोगसम्बन्धी जानकारी, पहिचान, रोकथाम तथा उपचार प्रक्रिया, बालरोगका सामान्य लक्षण, उपचारका तरिका, पोषण व्यवस्थापन तथा अभिभावकमा चेतना जगाउने उपायहरूबारे प्रशिक्षण प्रदान गरेकी थिइन ।

नगरपालिकाले वडा नम्बर १, २ र ३ को सोनपुर, वडा नम्बर ४,५ र ६ को लमहीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लागि बालरोग व्यवस्थापन सम्बन्धि १ दिने स्वास्थ्य सचेतना तालिम गर्ने भएको स्वास्थ्य शाखाकी बरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक मिना भुसाल शर्माले जानकारी दिईन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्