मौलिक चाडपर्वहरूले आपसी सद्भावलाई अझ मजबुत बनाउँछ – प्रमुख चौधरी

दाङ समाचार
दाङ समाचार १ असार २०८२, आईतवार
2 Min Read
Aa

दाङ – मगर समुदायको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व भुम्या (भूमे पूजा) को अवसरमा लमही नगरपालिकाले नगर क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले भुम्या पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै भने, “हाम्रो समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । यस्ता मौलिक चाडपर्वहरूले सामाजिक एकता, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई अझ मजबुत बनाउँछन्।”

उपप्रमुख लक्ष्मी योगीले पनि मगर समुदायको सांस्कृतिक धरोहरको रूपमा रहेको भुम्या पर्वले सबैमा समृद्धि, शान्ति र प्रगतिको कामना गर्न प्रेरणा दिने बताउँदै, पर्वको शुभकामना व्यक्त गरेकी छन । यस्ता पर्वहरूले सबै जातजाति र समुदायबीच सहअस्तित्व, एकता र आपसी सम्मानको भावना बलियो बनाउने उपप्रमुख योगीको भनाई छ ।

भुम्या पर्व विशेषगरी धान रोपाइपछिको फुर्सदमा मनाइने मगर समुदायको ऐतिहासिक चाड हो। यस पर्वमा गाउँका सबै बासिन्दा एकत्रित भई बासको भाटो गाड्ने, राँगाको बलि दिने, मुरी, चामल, जाँड–रक्सी चढाएर भूमिदेवीको पूजा गर्ने परम्परा रहेको छ। यसरी भूमिदेवीको पूजा गरी वर्षभरि समृद्धि र राम्रो उत्पादनको कामना गरिन्छ।

लमही नगरपालिकाले मगर समुदायको यस्ता मौलिक पर्व तथा परम्पराहरूलाई जगेर्ना गर्दै सामाजिक सद्भाव, समावेशीता र सांस्कृतिक विविधताको संरक्षणमा सधैं साथ रहने प्रतिबद्धता जनाएको छ । नगरपालिका नेतृत्वले सबै जातजाति र समुदायबीच आपसी सम्मान, सहकार्य र ऐक्यबद्धताको सन्देश फैलाउने यस्ता चाडपर्वहरूलाई विशेष महत्वका साथ मनाइने वातावरण बनाउन आग्रह समेत गरेको छ । लुम्बिनीले प्रदेश सरकारले जारि गरेको सूचनाका आधारमा लमही नगरपालिकामा पनि सम्बन्धित समुदायले बिदा लिएका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्