दाङ – लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले प्राविधिक टोलीसहित वडा नम्बर ६ र ९ मा सम्पन्न भएका विकास योजनाहरूको अनुगमन गर्नुभएको छ ।
अनुगमनको क्रममा प्रमुख चौधरीले योजनाहरूको गुणस्तर, समयानुसारको कार्यान्वयन र जनसहभागिता सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “विकास योजना कागजमा मात्र होइन, जमिनमै देखिनुपर्ने हो । त्यसैले योजनाको अनुगमन, मूल्याङ्कन र सुधार हाम्रो प्रमुख जिम्मेवारी हो ।”
उपप्रमुख लक्ष्मी योगीले पनि योजनाहरूको प्रभावकारिता र स्थायित्वका पक्षमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै जनताका अपेक्षाअनुसार सेवा प्रवाह र पूर्वाधार विकासमा नगरपालिकाको प्रतिबद्धता रहेको बताउनुभयो ।
अनुगमन टोलीमा प्रमुख, उपप्रमुख, नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेल, प्राविधिक अधिकृत अमित विश्वकर्मा, सम्बन्धित वडाका जनप्रतिनिधि तथा योजना सरोकारवालाहरूको उपस्थिति रहेको थियो । टोलीले बाटो, खानेपानी, नाला, भवन लगायतका भौतिक पूर्वाधार योजनाको प्रगति अवलोकन गरेको थियो ।
लमही नगरपालिकाले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग तथा योजनाहरूको स्थायी प्रभाव सुनिश्चित गर्न नियमित अनुगमनलाई प्राथमिकता दिँदै आएको छ । यसले स्थानीय विकासलाई थप गुणस्तरीय, उत्तरदायी र जनउत्तरदायी बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्