लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

दाङ समाचार
दाङ समाचार ८ असार २०८२, आईतवार
2 Min Read
Aa

दाङ – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन भने फरार छिन् । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो ।

आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ ।

जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् ।

तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । यसबारे सुमनलाई पटक–पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी थिइन् । ‘त्यसपछि उहाँले अरू दुई वटा चेक दिनुभयो, त्यो पनि साट्न जाँदा सबै बाउन्स भए,’ उनले भनिन् । सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा उनले दायर गरेकी हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्