डिजिटल युगमा कम्प्युटर ज्ञान अनिवार्य – वडा अध्यक्ष चौधरी

दाङ समाचार
दाङ समाचार १४ असार २०८२, शनिबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ३ मा तीन महिने कम्प्युटर तालिम समापन भएको छ । समापन कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सीपमूलक तालिमले आत्मनिर्भर जीवन यापनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले अहिलेको डिजिटल युगमा कम्प्युटर ज्ञान अनिवार्य आवश्यकतामा परिणत भएकाले यस्ता तालिमहरु रोजगार सिर्जना तथा स्वरोजगारको माध्यम बन्ने बताए । उनले थपे, “सीप भएको मान्छेलाई अवसर खोज्न गाह्रो हुँदैन । यस्तो तालिमले युवा पुस्तालाई आत्मनिर्भर बनाउँदै देशमै केही गर्न प्रेरणा दिनेछ ।”

उनका अनुसार डिजिटल युगमा प्रविधिबाट टाढा रहनु भनेको पछाडि पर्नु हो । उनले विद्यार्थी, युवा, कर्मचारी, व्यवसायी, र सञ्चारकर्मी सबैले प्रविधिको प्रयोगमा दख्खल राख्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष चौधरीले प्रविधि शिक्षाका कार्यक्रमहरूलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिए । “हामीले प्रविधिलाई शत्रु होइन, सहयोगीको रूपमा लिनुपर्छ,” उनले भने, “प्रविधिमैत्री समाज बन्यो भने समृद्धि र विकास सम्भव छ ।” उनको भनाइले प्रविधिको महत्व झल्काउने मात्र होइन, सबै क्षेत्रका नागरिकलाई प्रविधिमैत्री बन्ने प्रेरणा दिएको छ ।

त्यस्तै पत्रकार छविलाल कोपिलाले सबैलाई प्रविधि मैत्री बन्न आग्रह गरेका छन् । हालको समयमा सूचना र प्रविधिको तीव्र विकासले मानव जीवनलाई सहज, सरल र गतिशील बनाएको उल्लेख गर्दै उनले प्रविधिको ज्ञान समयको आवश्यकता भएको बताए ।

वडा नम्बर ३ का वडा सदस्य सुमन अधिकारीले आजको युग सूचना र प्रविधिको युग हो, जसले यो प्रविधिलाई चिन्न र अंगाल्न सक्छ, उसले धेरै ज्ञान हासिल गर्न सक्दछ र प्रतिस्पर्धामा अगाडि रहन सक्ने बताए । उनका अनुसार प्रविधिको प्रभाव हरेक क्षेत्रमा फैलिएकोले सबैले यसको आधारभूत ज्ञान लिन जरुरी छ । अधिकारीले युवाहरुलाई प्रविधिप्रति आकर्षित गराउँदै आधुनिक युगको माग अनुसार आफूलाई योग्य बनाउनेतर्फ जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

त्यसैगरी सहभागीहरुले तीन महिनाको कम्प्युटर सिकाईले सीप सिक्ने भोक जगाएको बताएका छन् । तीन महिनामा थोरै कुरा सिकियो, अब फेरी डिप्लोमा तहको कम्प्युटर सिक्न पाए धेरै सहज हुने तालिममा सहभागी विद्यार्थीहरुको भनाई छ । तीन महिनासम्म संचालन रहेको तालिममा १ सय ७५ जना बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्