दाङ – आज साउन १ गते, अर्थात् साउने संक्रान्ति । सूर्यको मिथुन राशिबाट कर्कट राशिमा प्रवेश हुने दिन भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । सौर्यमानअनुसार सूर्य दक्षिणायनतर्फ गइ कर्कट रेखा माथि पुग्ने भएकाले यही दिनबाट दक्षिणायन सुरु हुने धार्मिक मान्यता छ।
हिन्दू धर्मशास्त्र अनुसार, साउने संक्रान्तिका दिन “कण्डारक” नामक रात्रिचर प्राणीको पूजा गरी बलेको अगुल्टो फाल्ने परम्परा छ । यसो गर्दा वर्षभर खेतबारीमा काम गर्दा लाग्न सक्ने छालाको रोग, खटिरा, लुतोजस्ता समस्याबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, साउने संक्रान्ति भित्रिनेबित्तिकै नेपालमा चाडपर्वहरूको लहर सुरु हुन्छ ।
साउन महिनाभर विशेषगरी महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर व्रत बस्ने चलन छ । विशेषगरी सोमबारको दिन शिवजीको पूजा गरी व्रत बस्ने महिलाहरूको ठूलो भीड काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा देखिन्छ ।
साउन महिनामा व्रत बस्दा मनोकांक्षा पूरा हुने र पारिवारिक सुख-शान्ति प्राप्त हुने जनविश्वास छ । आजको दिन विशेष पूजा, दान, स्नान र धार्मिक आस्थाका साथ देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्