दाङ – लमही नगरपालिका –९ तेलिया निवासी मृगौला पीडित करमलाल चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । लमही नगरपालिका–८ बिजुलीपुर निवासी तथा हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका विजय कुमार चौधरीको पहलमा त्यहाँ कार्यरत नेपाली युवाहरूबाट संकलित करीब ४५ हजार रुपैयाँ पीडित चौधरीलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नं. ५ का सदस्य केशवराज अधिकारी र वडा नं. ८ का सदस्य गणेश चौधरीको उपस्थितिमा चौधरीलाई प्रदान गरिएको हो । वडा सदस्य गणेश चौधरीका अनुसार, चौधरीको दुवै मृगौलाले काम नगरेपछि उनी लामो समयदेखि नियमित डायलाइसिस गराउँदै आएका छन ।
लमही नगरपालिका–९ को सिफारिसमा उनले लमही सामुदायिक डायलाइसिस केन्द्रमार्फत सेवा लिइरहेका छन । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मृगौला पीडित चौधरीका लागि लमही नगरपालिकाबाट सक्दो सहयोग उपलब्ध गराउने बताउनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर उनको उपचारमा सहजीकरण गर्ने समेत उपप्रमुख योगीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्