नदी कटान क्षेत्रमा तटबन्धको कामले पायो तिब्रता, हालसम्म ५०.१४ किलोमिटर तटबन्ध निर्माण

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ श्रावण २०८२, आईतवार
4 Min Read
Aa

दाङ – जनताको तटबन्ध कार्यालयले हालसम्म पश्चिम राप्ती नदी दाङ जिल्लामा २३.१४ र बबईमा २७ गरि जम्मा ५०.१४ किलोमिटर तटबन्ध निर्माण गरेको छ । यस तटबन्धले २७२ हेक्टर जमिन कटानबाट सुरक्षित भएको कार्यालयले जानकारी दिएको छ । २०६६ सालमा लमहीमा स्थापना भएको यो कार्यालयले दाङ र बाँकेका बबई, राप्ती तथा सहायक नदीहरूमा तटबन्ध निर्माण गर्दै आएको छ । यस आर्थिक वर्षदेखि सल्यानको सारदा नदी कटान क्षेत्रमा पनि कार्य प्रारम्भ हुने कार्यालय प्रमुख डा. नारायण सुवेदीले बताए ।

२०८१/८२ आर्थिक वर्षमा नदी कटान नियन्त्रणका लागि नेपाल सरकारबाट २३ करोड २५ लाख रुपैयाँ प्राप्त भएको थियो, जसमध्ये १९ करोड ४८ लाख खर्च भइसकेको छ । त्यस्तै एशियाली विकास बैंक (एडिबी) मार्फत प्राप्त ७२ करोड ३८ लाखमध्ये ४५ करोड ५ लाख खर्च भइसकेको छ ।

कार्यालयले दाङमा ६ वटा र बाँकेमा २ वटा प्याकेज बनाएर काम गरिरहेको छ । लमही नगरपालिका–४ बुट्कहवामा १ हजार ५० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ । लमही नगरपालिका–६ मध्यनगरमा स्थानीयवासी र कार्यालयबीच सहमति नहुँदा त्यहाँको बजेट वडा नम्बर ४ मा प्रयोग गरिएको प्रमुख सुवेदीले जानकारी दिए ।

लमहीको मध्यनगरमा स्थानीयको जग्गा नदीको बीच भागमा पर्ने भएकाले तटबन्ध नदीको बीच भागबाटै गर्नुपर्ने माग स्थानीयले राखेका थिए । कार्यालयले यो माग पूरा गर्न नसक्ने बताएपछि त्यहाँको काम रोकिएको हो ।

गढवा गाउँपालिका–२ जेठान गाउँमा १ हजार ७५० मिटर, ५ नम्बर वडाको तकियापुरमा २ हजार मिटर, ४ नम्बर वडामा २ हजार ५०० मिटर, र ७ नम्बर वडाको कान्छी गाउँमा ७४१ मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ । बाँकेमा पनि २ प्याकेजअन्तर्गत राप्ती सोनारी–१ कचनापुरमा १ हजार ३०० मिटर र ६ नम्बर वडाको ललहीघाटमा १ हजार २०० मिटर तटबन्ध निर्माण भइसकेको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि पश्चिम राप्ती, बबई र सारदा नदी कटान नियन्त्रण तथा विपत् व्यवस्थापनका लागि ३–३ करोड रुपैयाँ गरी कुल १२ करोड रुपैयाँको बजेट स्वीकृत भइसकेको छ ।

कालिका कन्स्ट्रक्सनले ३० महिनामा काम पूरा गर्ने सम्झौता गरेको भए पनि विभिन्न कारणले ढिलाइ भएपछि थप ८ महिनाको समय दिइएको छ । हालसम्म कम्पनीले ७० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेको र तोकिएको समयमै समाप्त गर्ने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।

यसैगरी गौरी पार्वती कोशी एन्ड न्यौपाने मृत्त सञ्जिवनी जेभीले २०७३/७४ मा गढवाको जेठान गाउँ (११ करोड) र लमही नगरपालिका बलरामपुर (१५ करोड) मा तटबन्ध निर्माणको ठेक्का पाएको थियो । तर निर्माण कम्पनी लामो समयसम्म सम्पर्कमा नआएपछि कार्यालय प्रमुख सुवेदी र लेखा अधिकृत उदय बहादुर डाँगी कम्पनीलाई खोज्दै काठमाडौं पुगेका थिए । मुख्य ठेकेदारसँग भेटपछि काम निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ ।

हाल एउटा प्याकेजको ४९ प्रतिशत र अर्कोको ६७ प्रतिशत काम सकिएको छ । बबई नदी कटान क्षेत्रमा तटबन्ध निर्माणका लागि अमन इन्टरनेसनल ट्रेड लिंक प्रालिसँग २०८० जेठ २२ गते सम्झौता भएको थियो । यस कम्पनीले पनि ९० प्रतिशत काम पूरा गरेको छ र तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गर्ने जनाएको छ । तर स्थानीयको अवरोध र ढुंगा अभावका कारण काममा केही ढिलाइ भएको कार्यालयको भनाइ छ ।

वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै राप्ती नदीमा आउने बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउन एक महिनादेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माणस्थलमा पुगेर नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि बेम्बो पाइलिङ, वेम्बो र आर सि सि पर्कोपाईन , खाली बोरामा बालुवा भरि राख्ने लगायत काम गरि तत्कात अस्थायी आपत्कालीन तटबन्ध बनाउने कार्य गरिरहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्