दाङ – देउखुरी सामुदायिक सेवा केन्द्र लमहीले वडा प्रहरी कार्यालयबाट सरुवा भएर जान लागेका प्रहरी निरीक्षक प्रकाश भुसालको बिदाई गरेको छ । सेवा केन्द्रले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको हो । प्रहरी निरीक्षक भुसालको हालै गरिएको सरुवासँगै उहाँको योगदानको सम्मानस्वरूप लमहीमा रहेको धेरै सामाजिक संघ संस्थाले बिदाई कार्यक्रमको आयोजना गरेका छन ।
कार्यक्रममा प्रहरी निरीक्षक भुसालले कार्यालयमा कार्यरत रहँदा देखाएको इमान्दारी, नेतृत्व क्षमता र जनमैत्री व्यवहारको खुलेर प्रशंसा गरेका थिए । ११ महिनाको सेवा अवधिमा उहाँले लमही क्षेत्रमा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न उल्लेखनीय योगदान गर्नुका साथै लागूपदार्थ नियन्त्रण, सडक सुरक्षाको निगरानी, अपराध नियन्त्रण लगायतका क्षेत्रमा उहाँले गर्नु भएको प्रभावकारी पहलहरूका बारेमा सबैले चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै निरीक्षक भुसालले लमहीमा बिताएको कार्यकाल आफ्नो सेवा जीवनकै अविस्मरणीय समय भएको उल्लेख गर्नु भयो । “यहाँको स्थानीय सहयोग, नागरिकको विश्वास र सहकर्मीको साथले मलाई सदैव प्रेरित गर्यो,” उहाँले भन्नु भयो, “यो सहर र यहाँका नागरिकप्रतिको मेरो माया सदैव रहनेछ।”
प्रहरी निरीक्षक भुसालको कास्कीको पोखरा सरुवा भएको छ । उहाँको स्थानमा अब नव नियुक्त प्रहरी निरीक्षक रोशनराज पाण्डेले कार्यभार सम्हाल्नु हुने छ । देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष किरण विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सीता चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्