दाङ – लमही नगरपालिका – ६ मा आजदेखि ४० दिने लोकसेवा तयारी कक्षा सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले एक कार्यक्रमका बीच कक्षाको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीले यस्ता तालिमले युवाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले नगरपालिकाले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
युवाहरूलाई सरकारी सेवामा प्रवेश गर्न सहयोग पुर्याउने उद्देश्यले लमही नगरपालिका वडा नम्बर ६ ले लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको लमही नगरपालिका -६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले बताउनु भयो । वडा अध्यक्ष चौधरीका अनुसार लोकसेवामा सहभागी हुन इच्छुक युवाहरूलाई लक्षित गर्दै तालिम प्रदान गरिएको छ ।
तालिममा सक्रिय सहभागिता भएर मौकाको फाइदा लिन वडा सदस्य कृष्ण बहादुर खत्री क्षेत्रीले विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । यस कार्यक्रममार्फत स्थानीय तहमै बसोबास गर्ने विद्यार्थीहरूलाई लोकसेवा आयोगका विविध पदहरूका लागि तयारी गराउने व्यवस्था गरिएको छ।
लमही नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा स्वस्तिक प्रशिक्षक प्रशिक्षण तालिम केन्द्र, गढवाको प्राविधिक सहयोगमा सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्