होटल व्यवसायी समितिद्वारा खाद्यान्न वितरण

दाङ समाचार
दाङ समाचार ८ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa

दाङ – लमही होटल व्यवसायी समितिले लमही नगरपालिका-९ तेलिया र तरुलियाका अति विपन्न, एकल तथा अपांग महिलाहरुलाई राहत स्वरूप खाद्यान्न प्रदान गरेको छ । समितिले लमही नगरपालिका -९ तेलियाकी एकल महिला डम्मरादेवी कुमाल, तरुलियाका जेष्ठ तथा एकल महिला जोखनी माझी, अपांग तथा एकल महिला लालमती कुमाल, एकल महिला समुन्द्री थापा, जेष्ठ नागरिक सन्ची माझी, एकल महिला गौथली बोटे, र विपन्न वर्गबाट कोल्तराका राजु सुनारलाई खाद्यान्नका सामाग्री वितरण गरिएको समितिका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।

समितिको स्थापना दिवसका अवसरमा अन्य कार्यक्रम गरेर फजुल खर्च गर्नु भन्दा गरिब दुखीलाई सहयोग गर्नु उचित ठानेर सहयोग गरेको लमही होटल व्यवसायी समितिका अध्यक्ष नारायण भुसालले बताए । समितिका अध्यक्ष नारायण भुसालले समाजमा व्याप्त फजुल खर्च प्रवृत्तिको विरोध गर्दै भने, “ठूलो खर्च गरेर भोजभतेर गर्नु भन्दा, समाजका विपन्न वर्गलाई सहयोग गर्नु हाम्रो साझा दायित्व हो, त्यसैले हामीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिंदै सहयोग गर्ने निर्णय गरेका हौं।”

कार्यक्रममा बोल्दै लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीले समितिको स्थापना दिवसका अवसरमा सामान्यतया भव्य कार्यक्रम, भोजभतेर र सांस्कृतिक कार्यक्रम गरिने चलन र परम्परा तोड्दै एक उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गरे । समितिले आफ्नो स्थापना दिवस विशेष अवसरमा कुनै ठूला औपचारिक कार्यक्रम नगरी, त्यो खर्च गरिब तथा दुःखीलाई सहयोग गर्न देखाएको मानव धर्मलाई सबैले अनुशरण गर्नु पर्ने बताए । साथै सहयोग गर्ने समिति परिवारलाई धन्यवाद समेत दिए ।

सो अवसरमा लमही नगरपालिकाकी कार्यपालिका सदस्य पार्वती विश्वकर्मा, वडा सदस्य गणेश बहादुर कुमाल, निवर्तमान अध्यक्ष हिमंत प्रसाद पाण्डे, प्राथमिक विद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओम प्रकाश बस्नेत, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, महिला उपाध्यक्ष सुमित्रा भट्टराई, कोषाध्यक्ष श्याम कुवर, सहसचिव बाबुराम खनाल, सदस्य सारदा भट्टराई र छविलाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्