दाङ – लमही नगरपालिका – २ को राजपुर, घटुरिया डाँडामा सात दिने ढकिया बनाउने तालिम सुरु भएको छ । स्थानीयस्तरमा महिलाहरूलाई सीपमूलक कार्यमा सहभागी गराउँदै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
सोनपुर सामुदायिक सिकाई केन्द्रको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको तालिम सोमबार एक कार्यक्रमकाबीच औपचारिक रूपमा सुरु गरिएको हो । तालिम उद्घाटन समारोह सिकाई केन्द्रका अध्यक्ष लक्ष्मण पवन पन्थीको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
सो कार्यक्रममा लमही नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दामोदर पौडेल र वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए । अतिथिहरूले तालिममा सहभागीहरूलाई शुभकामना दिँदै महिलाहरूको सशक्तिकरण र स्थानीय सीपको प्रवर्द्धनमा यस्तो तालिमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
तालिममा २१ जना सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ । सहभागीहरूलाई ढकिया बनाउने सम्पूर्ण प्रक्रिया, प्रयोग गरिने सामग्री र यसको बजार सम्भावनाका बारेमा जानकारी दिइनेछ । तालिमको सञ्चालन प्रशिक्षक इन्द्रा चौधरीले गरिरहेकी छन्, जो यस क्षेत्रमै अनुभवसहित सक्रिय रहिएकी सीप प्रशिक्षक हुन् । कार्यक्रमको सञ्चालन सेवा केन्द्रकी सामाजिक परिचालिका गीता चौधरीले गरेकी थिइन्।
स्थानीय महिला र युवतीहरू सहभागी रहेको तालिमबाट उनीहरूले आफ्नो सीप विकास गरेर घरमै बसेर आयआर्जन गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्