दाङ – विश्व वातावरण दिवस २०८२ को अवसरमा लमही नगरपालिका र डिभिजन वन कार्यालय दाङ (देउखुरी) को संयुक्त आयोजनामा भोलि विशेष दौड प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता अन्य दौडभन्दा फरक किसिमको हुनेछ, जसमा सहभागीहरूले दौडसँगै फोहोर संकलन पनि गर्नु पर्नेछ ।
स्वस्थ जीवनशैली र सफा वातावरणका लागि यस्तो कार्यक्रम निकै प्रभावकारी हुने लमही नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ३५ सय रुपैयाँ र तेस्रो हुने सहभागीलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रमको उद्देश्य वातावरणीय सचेतना बढाउनुका साथै नगर क्षेत्रभित्र सफाइको सन्देश फैलाउनु रहेको लमही नगरपालिकाले जनाएको छ । सहभागीहरूले दौडको क्रममा प्लास्टिकजन्य फोहोर संकलन गर्नेछन् र त्यसको मूल्यांकन आधारमा विजेता घोषणा गरिने छ।
भोलि बिहान ७ बजेबाट सुरु हुने प्रतियोगितामा स्थानीय बासिन्दा, विद्यार्थी, युवा क्लब तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । “यस प्रतियोगिताले वातावरण संरक्षणमा समुदायको सहभागिता बढाउने विश्वास लिएको छौं,” नगरपालिकाका प्रमुख जोगराज चौधरीले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्