दाङ – नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदोमा आठ जना युवाको सामूहिक लगानीमा ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा ल्याइएको छ । एक करोडभन्दा बढीको लगानीमा स्थापना गरिएको यो क्याफेले स्वास्थ्यप्रद खानासँगै स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित हुने जनाएको छ ।
स्टार युवा समूहका अध्यक्ष अभिषेक अमन झाले स्वदेशमै केही नयाँ र दीगो काम गर्ने उद्देश्यले यो पहल सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्याफेमा राप्ती नदीको माछा, दाङमा उत्पादन भएको वधिया जातको भाले, मार्सी चामल, साथै कर्णाली क्षेत्रका अर्गानिक उत्पादनहरूलाई प्राथमिकता दिइएको छ ।
रेष्टुरेन्टमा नेपाली, इन्डियन र चाइनिज खानाका विभिन्न परिकारहरूको स्वाद पाइनेछ । अध्यक्ष झाले भन्नुभयो, “हामीले नेपालमै उत्पादन भएका विशिष्ट वस्तुहरूलाई प्राथमिकता दिँदै, गुणस्तरीय सेवा दिन खोजेका हौं। विशेषगरी दाङमा उत्पादन भएको वधिया भालेलाई नेपालगञ्जमा पहिलोपटक परिकारको रूपमा प्रस्तुत गर्न लागेका हौं ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अगाडि रहेको यो क्याफे भोलिदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । रेष्टुरेन्ट सञ्चालनको यस प्रयासले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्