दाङ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार महिनाको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नियमित कार्यतालिका अनुसार असारको पहिलो साता नै नतिजा प्रकाशन गरिनुपर्ने भए पनि उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएका कारण मिति पछि सारिएको हो ।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार गत २० चैतदेखि करिब एक महिनासम्म शिक्षकहरू आन्दोलनमा रहेका कारण परीक्षण प्रक्रिया ढिलो सुरु भएको थियो । “शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो, त्यसमा आउजाउको दुई दिन मिलाउँदा परीक्षण सुरु नै ढिला भयो। त्यसैले असारको तेस्रो साताभन्दा अगाडि नतिजा सम्भव छैन,” भट्टराईले जानकारी दिए ।
हाल उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको र केही केन्द्रहरूमा अझै परीक्षण कार्य जारी रहेको भट्टराईले बताए। “बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं। इन्ट्री, रुजु र जाँच गरी त्रुटिरहित रूपमा नतिजा प्रकाशनको तयारीमा जुटेका छौं,” उनले भने ।
गत चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकोले बोर्डले सबै तयारी पूरा गरेर चाँडै नतिजा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्