सीप मानिसको जिउने आधार हो – प्रमुख चौधरी

दाङ समाचार
दाङ समाचार १३ असार २०८२, शुक्रबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर -१ स्थित सुनडबरीमा सञ्चालन गरिएको कटाई-सिलाई तथा गुडिया बनाउने सीपमूलक तालिमको समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सीपको महत्त्वलाई जोड दिंदै मानिसलाई जिविकोपार्जनमा टेवा पुर्‍याउने प्रमुख माध्यम सीप भएको बताए ।

“सीप भनेको केवल काम गर्न जान्ने क्षमता मात्र होइन, यो मानिसको आत्मनिर्भरता र जिउने आधार पनि हो,” प्रमुख चौधरीले भने, “नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ र आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजानेछ ।”

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष दामोदर पौडेलले तालिमले स्थानीय महिलाहरूमा आत्मविश्वास जागृत गराउने विश्वास व्यक्त गरे । “सीप विकासको आधार हो । महिलाहरूले घरमै बसेर आम्दानी गर्न सक्ने खालका तालिमहरू झनै सञ्चालन गर्नुपर्छ,” अध्यक्ष पौडेलले भने ।

त्यस्तै, लमही नगरपालिकाका प्रशासकीय अधिकृत महेश थापाले यस्ता तालिमहरू महिलाहरूको आर्थिक सशक्तीकरणतर्फको सशक्त कदम भएको बताए । उनले तालिम सकिएको आधारमा प्राप्त सीपलाई व्यवहारमा उतार्न र आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरे ।

१ महिना १५ दिन सम्म चलेको तालिममा स्थानीय महिलाहरूलाई कटाई-सिलाई र गुडिया बनाउने सीप प्रदान गरिएको थियो । सहभागी महिलाहरूले तालिम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन ।

तालिमको प्रशिक्षकमा रुपा रोका, गंगा पुन थापा, बसन्ता थापा रहेका थिए । करिब डेढ महिनासम्म संचालन रहेको उक्त तालिममा ६८ जना महिलाहरुको सहभागीता रहेको थियो । समापन समारोहपछि सहभागी महिलाहरूले बनाएका सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो, जसले कार्यक्रमको प्रभावकारिता देखाएको थियो ।

वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा कार्यपालिका सदस्य किरण चौधरीले स्वागत मन्तव्य र वडा सचिव बिन्तिराम चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्