लमही नगरपालिकाद्वारा जेष्ठ नागरिक सम्बन्धी आचारसंहिताको पुस्तक विमोचन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० असार २०८२, शुक्रबार
6 Min Read
Aa

दाङ – लमही नगरपालिकाले जेष्ठ नागरिकहरूको हक, अधिकार, सम्मान र संरक्षणका विषयमा केन्द्रित पुस्तक निर्माण गरेको छ । जेष्ठ नागरिकमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित तयार गरिएको उक्त पुस्तकले स्थानीय राज्यबाट पाउने सेवा सुविधा र आचारसंहिता लगायतका विषय समेटिएको छ ।

“तिमी जवान हुँदा वृद्धको सम्मान गर्न सिक, किनकी जीवनमा तिमी पनि एक दिन वृद्ध हुनेछौ” भन्ने सन्देशका साथ लमही नगरपालिकाले जेष्ठ नागरिकका हक, अधिकार, सम्मान र संरक्षण सम्बन्धी आचारसंहिता २०८१ को विमोचन गरेको हो ।

नगरपालिकाका अनुसार पुस्तकमार्फत जेष्ठ नागरिकले आफूलाई प्राप्त हुने सेवा, सुविधा र अधिकारबारे स्पष्ट जानकारी पाउनेछन । साथै, नगरपालिकाले अवलम्बन गरेका नीतिहरू, सामाजिक सुरक्षा कार्यक्रमहरू, स्वास्थ्य तथा सन्दर्भ सेवालगायत थुप्रै जेष्ठ नागरिकमैत्री व्यवहारसम्बन्धी मार्गनिर्देशन पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकका बारेमा नागरिक समाज दाङका संयोजक निम बहादुर थापाले टिप्पणी गरेका थिए ।

पुस्तकको विमोचन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले जेष्ठ नागरिकहरू जीवनको अनुभवका भण्डार हुन । उनीहरूको सम्मान गर्नु भनेको आफैंको भविष्यको सम्मान भएको बताइन । जेष्ठ नागरिकहरू जीवनभरि साङ्घर्ष, मेहनत र समर्पणका साथ समाज र राष्ट्रको विकासमा योगदान पुर्‍याएको स्मरण गराउँदै भनिन्,। “आज हामी जुन सुविधा र सम्भावनामा बाँचिरहेका छौं, त्यसको जग यही जेष्ठ पुस्ताले राखेका हुन् ।उनीहरूका अनुभव, सल्लाह र मार्गदर्शनबाट हामी धेरै सिक्न सक्छौं । त्यसैले जेष्ठ नागरिकको सम्मान गर्नु भनेको आफ्नै सामाजिक जिम्मेवारी र कृतज्ञताको अभिव्यक्ति हो ।”

त्यसैगरी लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जेष्ठ नागरिकहरू दैनिक जीवनका विभिन्न पक्षमा समस्या भोग्दै आइरहेको भन्दै ती समस्याहरूको समाधानमा सम्बन्धित निकाय र सरोकारवाला सबै गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन । वडा अध्यक्ष चौधरीले जेष्ठ नागरिकहरूको हितमा विभिन्न प्रकारका आचारसंहिताहरू निर्माण भए पनि ती आचारसंहिताहरू प्रभावकारी रूपमा लागू हुन नसक्नु दुःखद् विषय भएको उल्लेख गरे । उनले भने, “कानुन र नीति त बनेका छन्, तर तिनको कार्यान्वयनमा कमजोरी देखिनु आफैमा गम्भीर विषय हो ।”

उनले आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट जेष्ठ नागरिकहरूलाई सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवन जिउन सहज हुने विश्वास व्यक्त गरे । “जेष्ठ नागरिक हाम्रो समाजका अनुभवका भण्डार हुन्, उनीहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो,” वडा अध्यक्ष चौधरीले जोड दिए ।

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले नगरपालिकाले विभिन्न नीति तथा नियम बनाए पनि ती नियमहरूको कार्यान्वयनमा गम्भीर कमजोरी रहेको टिप्पणी गरेका छन । ट्राफिक व्यवस्थापनदेखि जेष्ठ नागरिक सेवासम्मका विषयमा भइरहेको बेवास्ताप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “ट्राफिक व्यवस्थापनका लागि पटक–पटक छलफल र निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन । इ–रिक्सा चालकहरूले मनपरी भाडा लिने गरेका छन्, जसका कारण चौतर्फी गुनासा आउँछन ।”

उनले जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको र ४ हजार रुपैयाँ भत्तामा पनि फुटकर रकम धेरै दिँदा थप झन्झट व्यहोर्नु परेको गुनासो नियमित रूपमा वडा कार्यालयमा आउने गरेको जानकारी दिए । वडाध्यक्ष सुवेदीले नीतिको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय र सरोकारवालाबीच समन्वय र जिम्मेवारीको स्पष्टता आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी अस्थायी ट्राफिक पोस्ट लमहीका प्रमुख माधव रावतले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सबैको सहयोग अनिवार्य रहेको बताएका छन । प्रहरीको एक्लो प्रयास पर्याप्त नहुने भन्दै उनले समुदाय, स्थानीय तह र नागरिक समाजका सबै पक्षबाट सूचना आदान–प्रदान सहित सक्रिय सहयोग आवश्यक रहेको बताए । जेष्ठ नागरिकका हक–हितको सन्दर्भमा उनले सेवा लिने कुनै पनि स्थानमा विभेदको अनुभव भएमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गरे । ‘जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न प्रहरी सधैं प्रतिबद्ध छ,’ प्रमुख रावतले भने ।

त्यसैगरी बैंकर्स एसोसिएसन लमहीका अध्यक्ष आश कुमार जरेजुले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र सेवामा प्राथमिकता दिने विषयमा बैंकहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन । उनले लमहीमा आयोजित एक कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरूले लामो समय देश र समाजको सेवा गरेका कारण अबको समयमा उनीहरूलाई सहज, सरल र शीघ्र सेवा दिनु सबै वित्तीय संस्थाहरूको जिम्मेवारी रहेको बताए । “हामीले बैंकिङ सेवा लिँदा जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेका छौं,” अध्यक्ष जरेजुले भने ।

उनका अनुसार कतिपय बैंकहरूमा जेष्ठ नागरिकका लागि अलग काउण्टर, विश्रामस्थल र सहज सेवा प्रवाहका उपायहरू लागू भइसकेका छन् भने बाँकी स्थानहरूमा पनि यस्ता अभ्यास तत्काल लागू गर्ने योजना अघि सारिएको छ । अध्यक्ष जरेजुले बैंकहरू केवल आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सामाजिक दायित्व पनि बहन गर्ने निकाय भएको उल्लेख गर्दै जेष्ठ नागरिकमैत्री सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।

विमोचित आचारसंहितामा जेष्ठ नागरिकहरूप्रति समाज, परिवार, स्थानीय निकाय र राज्यको जिम्मेवारी र भूमिकाबारे स्पष्ट व्यवस्था गरिएको छ। सरोकारवालाहरूले पालना गर्नुपर्ने मूल्य र मान्यताहरू उल्लेख गरिएको यो आचारसंहिता नगरपालिकाभित्रका सबै वडामा कार्यान्वयन गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागिहरुले जेष्ठ नागरिकमाथि हुने उपेक्षा, हिंसा तथा विभेदको अन्त्य गर्न सामाजिक चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । बुधबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरू, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, जेष्ठ नागरिक प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । जेष्ठ नागरिक संजाल लमहीका अध्यक्ष स्वर्गीय जागेश्वर शर्मा घिमिरे, सचिव दामोदर पाण्डे, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा लमहीका प्रमुख मेनका खड्का समेत सदस्य रहेको समितिले यो विमोचित पुस्तक लेखन कार्य गरेको हो । कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मेनका खड्काले गरेकी थिइन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्