दाङ – मोटरसाइकल दुर्घटनामा परी दुई जना किशोरको ज्यान गएको छ । गढवा गाउँपालिका–८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रामपुरबाट घोराहीतर्फ आइरहेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलामा सोमबार साँझ करिब ७ बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । गम्भीर घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
शवलाई पोस्टमार्टमका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्