दाङ – दाङ भ्याली कलेज घोराहीमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार कलेज परिसरमै आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक, प्रशासनिक र व्यवहारिक पक्षबारे जानकारी दिइएको थियो ।
शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका विद्यार्थीहरूलाई समूहअनुसार प्रशिक्षण प्रदान गरिएको थियो । शिक्षा समूहका विद्यार्थीलाई प्रा.डा. बिन बहादुर सिंह वली, व्यवस्थापन समूहका लागि ईश्वरी प्रसाद घिमिरे, र विज्ञान समूहका विद्यार्थीलाई हुकुम पौडेलले प्रशिक्षण दिएका थिए ।
कलेजका प्राचार्य विष्णु बञ्जाडेले कलेजको नीतिनियम, शैक्षिक कार्ययोजना तथा पठनपाठनसम्बन्धी जानकारी गराउँदै आइतबारदेखि नियमित कक्षा सञ्चालन हुने जानकारी दिए ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य शिक्षक सरीता देवकोटाले राखेकी थिइन् । कार्यक्रमको सहजीकरण शिक्षक आदिम केसीले गरेका थिए ।
कलेजका अध्यक्ष प्रा.डा. बिन बहादुर सिंह वलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्