आईसीसी टी-२० विश्वकप छनोट खेलमा नेपालको विजयी सुरुवात

दाङ समाचार
दाङ समाचार २३ आश्विन २०८२, बिहीबार
2 Min Read
Aa

दाङ – आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक (इएपी) छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । उसका लागि ओपनर क्लिन्टोन एन्टोले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक यसिन पटेलले १९ र मिट भावसरले ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन ।

नेपालका लागि रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिंदा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १-१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा कप्तान रोहित पौडेलले १६ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले २०-२० रन बनाए ।

ओमान क्रिकेट एकेडेमी १ मा भएको खेलमा नेपाल विरुद्ध कुवेतका नभिनरजा राजेन्द्रन र अनुदिप चेनथामरनले समान २-२ विकेट लिंदा मोहम्मद अकिफ र मोहम्मद अस्लामले १-१ विकेट लिएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्