विपद्का बेला जनतासँगै स्थानीय सरकार छ, समस्या भए जुनसुकै बेला खबर गर्नुहोस्’ : अध्यक्ष बुढाथोकी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ११ भाद्र २०८३, बिहीबार
2 Min Read
Aa

दाङ – राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बाढीपहिरो प्रभावित क्षेत्रमा कामको सिलसिलामा गएका राजपुर गाउँपालिकावासीको यकिन विवरण संकलन गर्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार खोजी तथा उद्धारका लागि प्रहरी प्रशासनसँग पनि निरन्तर समन्वय भइरहेको छ ।

“हामीले कामको सिलसिलामा रसुवा, नुवाकोट गएका हाम्रा पालिकावासीको यकिन डाटा संकलनको कार्य गरिरहेका छौँ । प्रहरी प्रशासनसँग पनि निरन्तर सम्पर्कमै छौँ । विपद्का बेला जनतासंगै स्थानीय सरकार छ । समस्या भए हामीलाई जुनसुकै बेला पनि खबर गर्नुहोला, हामी सहयोगका लागि तयार छौँ,” अध्यक्ष बुढाथोकीले भन्नुभयो ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादवले विपद्को अवस्थामा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले प्रभावित परिवारलाई आवश्यक सहयोग तथा समन्वयका लागि गाउँपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो ।

उपाध्यक्ष यादवले सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै सूचना प्राप्त भए तत्काल सम्बन्धित प्रहरी कार्यालय वा गाउँपालिकामा जानकारी गराउन आग्रह गर्नुभयो । साथै विपद्का बेला परिवारजनलाई धैर्य राख्न र आधिकारिक सूचनामात्र विश्वास गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।

बाढी तथा पहिरोका कारण सञ्चार सम्पर्क प्रभावित हुँदा रसुवा र नुवाकोटमा कामका लागि पुगेका विभिन्न जिल्लाका नागरिकको अवस्थाबारे परिवारजन चिन्तित बनेका छन । राजपुर गाउँपालिकाले आफ्ना नागरिकको अवस्था पहिचान तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

२ जना सम्पर्कमा आए अझै ४ सम्पर्कविहीन

रसुवा तथा नुवाकोट जिल्लामा गएको भीषण बाढी तथा पहिरोका कारण राजपुर गाउँपालिकाका दुई जना सम्पर्कमा आएका छन भने चार जना अझै सम्पर्कविहीन रहेका छन ।

राजपुर गाउँपालिका १ कठबेरुवाका गोपाल चौधरी र बुद्धिराम चौधरी सम्पर्कमा आएको उनका घरपरिवारले जनाएका छन । राजपुर गाउँपालिका ५ का एक जना र वडा नं. ७ का तीन जना गरी चार जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय दाङले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

सम्पर्कविहीन हुनेहरूमा राजपुर ५ सिमलखुटीका अर्जुन घर्ती, राजपुर ७ सिक्टाकी लक्ष्मी बुढाथोकी, राजपुर ७ कुरुवा खोलाकी कल्पना वली (आमा) र सोही स्थानका मनिष वली (छोरा) रहेका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्