दाङ – लमही नगरपालिका ६ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका नागरिकको नवीकरण प्रक्रिया घरदैलोमै पुगेर सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको छ । वडा कार्यालयसम्म आएर सेवा लिन कठिन हुने ज्येष्ठ नागरिक, अशक्त तथा शारीरिक रूपमा असहज नागरिकलाई सहज सेवा दिने उद्देश्यले वडा कार्यालयले कर्मचारीलाई घरमै पठाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था मिलाएको हो ।
वडा कार्यालयमा पुग्न नसक्ने नागरिकलाई सेवा लिनकै लागि परिवारका सदस्यको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै वडा कार्यालयले घरमै पुगेर सेवा दिन थालेको वडा अध्यक्ष श्याम नारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक प्रक्रिया पूरा गर्न नसक्ने नागरिकको पहिचान गरी कर्मचारीलाई सम्बन्धित सेवाग्राहीको घरमै पठाउने गरिएको छ ।
वडा अध्यक्ष चौधरीले भन्नुभयो, “वडा कार्यालयसम्म आउन नसक्ने अशक्त तथा ज्येष्ठ नागरिकलाई सेवा लिन समस्या नहोस् भन्ने उद्देश्यले कर्मचारीलाई घरमै पठाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेका छौँ ।”
सामाजिक सुरक्षा भत्ता राज्यले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गलाई उपलब्ध गराउँदै आएको महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम हो । तर भत्ता प्राप्त गर्न आवश्यक नवीकरण तथा विवरण अद्यावधिकका लागि सेवाग्राही स्वयं वडा कार्यालयसम्म पुग्नुपर्ने अवस्था हुँदा अशक्त तथा हिँडडुल गर्न कठिन हुने नागरिकलाई समस्या हुने गरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै लमही ६ ले घरदैलोबाटै सेवा उपलब्ध गराउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्