दाङ – नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमै नभएको व्यक्तिलाई कोषाध्यक्ष बनाइएपछि राष्ट्रिय खेलकुद परिषद्मा उजुरी परेको छ ।
संघका सचिव दिनेश बजगाईँले परिषद्मा उजुरी दर्ता गरेका हुन् । परिषद्को लगतमा दर्ता नम्बर १५० रहेको संघको साधारण सभा २०८० जेठ २६ गते सम्पन्न भएको थियो । ‘राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९’ को दफा ७ को (ग) बमोजिम भएको साधारण सभाबाट सबै पदमा निर्विरोध पदाधिकारी निर्वाचित भएका थिए ।
अध्यक्षमा अच्युत खनाल, वरिष्ठ उपाध्यक्षमा सिमान्त उदास, उपाध्यक्षमा अमिरकुमार श्रेष्ठ, जागृत पहाडी, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईँ, सहसचिवमा डिक्रप्रसाद बजगाईँ, कोषाध्यक्षमा रत्नाकुमार राई, सदस्यमा राजकुमार घिमिरे, सिजम मगर (सिंजाली), सन्दिप नेपाली, दिपेश आचार्य र माइकल बस्नेत निर्वाचित भए ।
कोषाध्यक्षमा रत्नाकुमारी निर्वाचित भएकोमा पवित्रा रेग्मीलाई बैंक खाता सञ्चालनको अधिकार दिइएको छ । उनले नै संघको आर्थिक कारोबार सम्हाल्दै आएकी छिन् ।
उनलाई हस्ताक्षरकर्ता बनाउनुको कारण आर्थिक अपचलन हुनसक्ने जिकिर गर्दै उनले परिषद्मा दर्ता गरेको उजुरीमा भनिएको छ,‘कोषाध्यक्ष रत्नाकुमारी राई हुनुपर्नेमा संघको कार्य समितिमा नै नभएको पवित्रा रेग्मी (जसलाई संघ र राखेपले नै नचिन्ने) भन्ने व्यक्तिलाई कोषाध्यक्ष, बैंक खाता सञ्चालकको रुपमा हालसम्म पनि हस्ताक्षरकर्ताको भूमिकामा प्रयोग गरी विगत लामो समयदेखि राज्यको अंकुत सम्पत्ति अपचलन, दुरुपयोग गरेको हुनाले सत्यतथ्य प्रमाण झिकाई प्रचलित ऐन, नियम, कानुनबमोजिम कानुनी कारबाही गर्न यो निवेदन पेश गर्दछु ।’
संघको सिद्धार्थ बैंकमा ००९१५०८५१५६ नम्बरको खाता रहेको छ । दर्ता नम्बर ५५७८ भएको उजुरीउपर राखेपले छानबिन गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्