दाङ – देउखुरी उद्योग वाणिज्य संघले लमहीमा व्यापारिक महोत्सव आयोजना गर्ने तयारीलाई तीव्रता दिएको छ । महोत्सवलाई व्यवस्थित, उपलब्धिमूलक र स्थानीय व्यवसायीमैत्री बनाउने उद्देश्यले संघले राजनीतिक दल तथा विभिन्न व्यवसायीका प्रतिनिधिसँग छलफल अघि बढाएको छ ।
यसैक्रममा बिहीबार लमहीमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरिएको हो । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका लमही नगर सभापति रोशनराज खनाल, नेपाली कांग्रेसका नगर कार्यवाहक सभापति शंकर चौधरी, नेकपा एमालेका नगर अध्यक्ष रतनकुमार केसी, नेपाली कम्युनिष्ट पार्टीका नगर उपाध्यक्ष विश्वराज अधिकारी, श्रम संस्कृति पार्टीकी नगर अध्यक्ष विना बुढा मगर, राष्ट्रिय जनमोर्चाका वसन्त आचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरखसिंह केसीलगायतको सहभागिता थियो ।
छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले लमहीमा व्यापारिक महोत्सव आयोजना गर्ने विषयमा सहमति जनाउँदै महोत्सवलाई स्थानीय उत्पादन, कृषि, पर्यटन, कला संस्कृति र व्यवसाय प्रवर्द्धनसँग जोड्नुपर्ने सुझाव दिएका छन् ।
श्रम संस्कृति पार्टीकी नगर अध्यक्ष विना बुढा मगरले महोत्सव आयोजना गर्दा स्थानीय व्यवसायीलाई कुनै असर नपर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नगर उपाध्यक्ष विश्वराज अधिकारीले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले खाली रहेका स्टल स्थानीय व्यवसायीलाई उपलब्ध गराएर सहयोग गर्नुपर्ने, स्टलको शुल्क मध्यम राख्नुपर्ने तथा किसान र सहकारीलाई विशेष महत्त्व दिनुपर्ने सुझाव दिनुभयो । साथै देउखुरी क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार हुने गरी कार्यक्रम तय गर्नुपर्ने र स्थानीय कला संस्कृतिलाई पनि उचित स्थान दिनुपर्ने उहाँको भनाइ थियो ।
नेकपा एमालेका नगर अध्यक्ष रतनकुमार केसीले महोत्सव आयोजना गर्दा प्रस्तुत गरिएका एजेन्डा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । विगतमा विभिन्न एजेन्डा र प्रतिबद्धता प्रस्तुत हुने तर कार्यान्वयन नहुने समस्या रहेको उल्लेख गर्दै उहाँले महोत्सव आयोजना गर्ने स्थान टुंगो लगाउन र राजनीतिक दलसँग गरिएका प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो । उहाँले देउखुरीको विकासमा उद्योग वाणिज्य संघको महत्त्वपूर्ण भूमिका रहने विश्वाससमेत व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका नगर कार्यवाहक सभापति शंकर चौधरीले महोत्सवबाट संकलित रकम सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । लमहीको पहिचान झल्काउने कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले लमही नगरपालिका १ स्थित शितलापुर क्षेत्रको सम्भावनालाई पनि उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । स्थानीय कलाकार तथा महिला उद्यमीलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रोशनराज खनालले महोत्सव व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले महोत्सवमा जुवातासजस्ता गतिविधिलाई निरुत्साहित गर्दै सकारात्मक र रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा उठेका सुझाव तथा जिज्ञासाको जवाफ दिँदै देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले महोत्सवबाट संकलित रकम संस्थाको संस्थागत विकासमा लगाइने जानकारी दिनुभयो ।
करिब आधा महिना सञ्चालन गर्ने गरी तयारी भइरहेको महोत्सवले स्थानीय व्यवसायीलाई मर्का नपार्ने विषयमा संघ सचेत रहेको उहाँले बताउनुभयो । स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
उहाँले भन्नुभयो, “महोत्सवले कुनै पनि व्यवसायीलाई मर्का नपरोस् भन्ने कुरामा हामी सचेत छौँ । महोत्सवबाट स्थानीय स्तरमा पनि आर्थिक टेवा पुगोस र स्थानीय स्तरमा उत्पादन भएका सबैखाले वस्तुको बजारीकरण होस् भन्ने हाम्रो चाहना हो ।”
संघका सल्लाहकार केशवराज पोख्रेलका अनुसार महोत्सव आयोजना गर्ने विषयमा संघका निवर्तमान अध्यक्ष कमलजंग सिंह ठकुरी सहितको टोलीले यसअघि मोबाइल व्यवसायी, सुनचाँदी व्यवसायी, गल्ला तथा किराना व्यवसायी, कपडा तथा फेन्सी व्यवसायी र होटल सञ्चालक व्यवसायीलगायतका प्रतिनिधिसँग पनि छलफल गरिसकेको छ ।
महोत्सव आयोजना गर्ने विषयमा सहमति जुटे पनि यसको मिति र स्थान भने अन्य सरोकारवाला निकायसँग थप छलफल गरेर टुंगो लगाइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन संघका सल्लाहकार हरिबहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्