मंकिपक्स बढ्न थालेपछि दक्षिण–पूर्वी एसियाका देशहरुलाई निगरानी बढाउन डब्लुएचओको आह्वान

दाङ समाचार
दाङ समाचार ९ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं – विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स संक्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ।

बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मंकिपक्स द्रुत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेका हुन्।

संक्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मंकिपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ।

‘मंकिपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ। जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेकी छन् , ‘यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसंख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ।’

डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मंकिपक्सका सङक्रमण पुष्टि भएका छन्। दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका संक्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ।

‍भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मंकिपक्स संक्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘विश्वव्यापीरुपमै र यस क्षेत्रमा मंकिपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ। साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मंकिपक्स संक्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ’, डा खेत्रपाल सिंहले भने ।

प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्